२९ असार २०८३, सोमबार

युरोपेली युनियनद्वारा चिलिमे-त्रिशूली २२० केभी प्रसारण आयोजना निरीक्षण

आयोजनाको समग्र भौतिक प्रगति ८१ प्रतिशत
युरोपेली युनियनद्वारा चिलिमे-त्रिशूली २२० केभी प्रसारण आयोजना निरीक्षण

युरोपेली युनियनको उच्चस्तरीय टोलीले निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको स्थलगत निरीक्षण गरेको छ ।

युरोपेली युनियनको एसिया निर्देशक पिटरिस अस्टस नेतृत्वको उच्चस्तरीय टोलीले सोमबार नुवाकोट र रसुवामा निर्माणाधीन आयोजनाको स्थलगत निरीक्षण गरेको हो ।

आयोजनाअन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंसीमा २२०-१३२-३३ केभीको क्रमशः चिलिमे हव र त्रिशूली थ्री बी हब सबस्टेसन निर्माणाधीन छन् ।

साथै चिलिमे हबदेखि त्रिशूली थ्रीबी हब सबस्टेशनसम्म २८ किलोमिटर  २२० केभी प्रसारण लाइन निर्माण भइरहेको छ ।

अनुमानित लागत तीन करोड ९० लाख अमेरिकी डलर रहेको आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र जर्मन विकास बैक (केएफडब्लू)को अनुदान छ ।

युरोपेली युनियनले स्थापना गरेको युरोपेली लगानी बैक (ईआइबी)को आयोजनामा सहुलितपूर्ण ऋण रहेको छ ।

युनियनको उच्चस्तरीय टोलीले त्रिशूली थ्रीबी हब सबस्टेसन र रसुवाको उत्तरगया गाउँपालिका–२ स्थित डाँडागाउँमा निर्माणाधीन प्रसारण लाइनको निरीक्षण गरेको थियो ।

टोलीले नेपाल विद्युत् प्राधिकरण, आयोजना व्यवस्थापन, निर्माणमा संलग्न परामर्शदाता र ठेकेदारका प्रतिनिधिहरूसँग आयोजनाको प्रगति, समस्या, निर्माण सम्पन्न हुने मितिलगायत विषयमा छलफल गरेको थियो ।

टोली प्रमुख पिटरिस अस्टसले आयोजना निर्माणले पछिल्लो समय गति लिएको र अहिलेसम्मको प्रगति सन्तोषकजनक देखिएको उल्लेख गरेको टोलीसँगै स्थलगत निरीक्षणमा गएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

भौगोलिक रूपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनु पर्ने, भीरैभीर रहेको र सडक पनि नभएकाले ढुंगा गिट्टी, बालुवा, टावरका सामान, पानी मान्छे या खच्चडबाट बोकाएर लैजानुपर्ने, बाढीपहिरो, ठेकेदार तथा परामर्शदाताको कमजोर कार्यसम्पादन, वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयको अवरोध, कोभिड-१९ लगायत कारण आयोजनाको निर्माण प्रभावित हुँदै आएको थियो । अहिले निर्माणले गति लिएको छ ।

‘निर्माणमा केही ढिलाइ भएकोमा उहाँहरूले विगतमा चासो र चिन्ता व्यक्त गर्दै आउनुभएको थियो, तर निरीक्षण भ्रमणका क्रममा कामले गति लिई उल्लेख्य प्रगति हासिल गरेको र भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा आयोजनाको काम भइरहेको देखेर टोलीले खुसी व्यक्त गर्दै यसको प्रशंसा गरेको छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘युरोपेली युनियनले ईआइबीमार्फत नेपालको जलविद्युत् उत्पादन, प्रसारण र वितरणमा ठूलो लगानी गर्न खोजेको छ, ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त आयोजनाको अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुको सहवित्तीयकरणमार्फत लगानी गर्न इच्छा व्यक्त गरेको छ, युनियनका अधिकारीहरु चिलिमे–त्रिशूली प्रसारण लाइन निर्माणमा प्रगति देखिएपछि अन्य थप आयोजनाहरुमा लगानीका लागि सकारात्मक देखिएका छन् ।’

इआइबीले चिलिमे–त्रिशूली प्रसारण लाइनका अतिरिक्त १४० मेगावाटको तनहुँ जलविद्युत आयोजना, मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन र सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका जिल्लाहरूमा विद्युतीकरणका लागि सहुलियतपूर्ण ऋण प्रवाह गरेको छ ।

केएफडब्लूले नुवाकोट र रसुवामा विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण र सौर्य ऊर्जाका लागि अनुदान उपलब्ध गराएको छ ।

त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाहका चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण गरिएको हो ।

आयोजनाको समग्र भौतिक प्रगति ८१ प्रतिशत रहेको छ । त्यसमध्ये प्रसारण लाइन र सबस्टेसनको निर्माण प्रगति क्रमशः ७१ र ७० प्रतिशत छ ।

प्रसारण लाइन र सबस्टेसनहरूको निर्माण आगामी चैतभित्र सक्ने लक्ष्य राखी धमाधम काम भइरहेको छ ।

प्रसारण लाइन निर्माणमा करिब तीन सय जना, चिलिमे हब सबस्टेशनमा ९० जना र त्रिशूली थ्रीबी हबमा १६० जना श्रमिक परिचालित छन् । कार्यकारी निर्देशक घिसिङले श्रमिकको संख्या थप गरी टावरको जग हाल्ने, खडा गर्ने, तार तान्ने, सबस्टेसनका उपकरणहरु जडान गर्नेलगायत सबै कामहरु समानान्तर रुपमा अगाडि बढाउन निर्देशन दिए।

दुवै सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर, जीआईएसलगायत महत्वपूर्ण उपकरणहरू आयोजनास्थलमा ल्याइसकिएको छ ।

यता प्रसारण लाइनका टावर, कन्डक्टरलगायत सम्पूर्ण उपकरण निर्माण स्थलमा आपूर्ति भइसकेको छ ।

अहिले सबस्टेसनहरुमा उपकरणहरू जडान र बाँकी रहेका सिभिल संरचना निर्माण भइरहेको छ ।

कूल २८ किलोमिटर प्रसारण लाइनमा पर्ने ७९ वटा टावरहरुमध्ये ४४ वटाको जग हालिएको छ । १३ वटा टावरहरुको आंशिक जग हालिएको छ । १५ वटा टावरको जग हाल्न खन्ने तथा ढलाइनको काम भइरहेको छ । २९ वटा टावर खडा गरिएको छ । खडा गरिएका टावरमा तार तान्न मुख्य ठेकेदारले सहायक ठेकेदारसँग सम्झौता गरिसकेको छ । तार तान्न छिट्टै सुरु हुने छ । तत्काल १० किलोमिटर तार तान्न सकिन्छ ।

आयोजनाको ठेकेदार चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीजले अहिले निर्माणमा तिब्रता दिइएको उल्लेख गर्दै चैतभित्र सम्पन्न गर्ने लक्ष्य राखी काम भइरहेको जनाएको छ ।

प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि पिङगाओसँग २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो ।

ठेक्का सम्झौता २०७४को पुसमा कार्यान्वयनमा आएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्