
लुम्बिनी प्रदेशमा संसदको माथिल्लो सदन राष्ट्रियसभा सदस्यका लागि आज बुधबार उपनिर्वाचन हुँदैछ । नेकपा (एमाले) बाट निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुन पदबाट राजीनामा दिएपछि खाली रहेको सिटमा उपनिर्वाचन हुन लागेको हो ।
आगामी एक वर्षका लागि उपनिर्वाचनमा एमालेका कुमार दशौदी, नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रबीर राय उम्मेदवार छन् । बिहान १० बजेदेखि कर्मचारी मिलन केन्द्र घोराहीमा मतदान सुरू हुने प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकृत गेहेन्द्र कुँवरले जानकारी दिए ।
राष्ट्रिय सभाको निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिका, उपमहानगरपालिका, प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष, उपाध्यक्षले मात्र मतदान गर्न पाउने कानूनी व्यवस्था छ । राष्ट्रिय सभामा स्थानीय तह र प्रदेशसभा सदस्यको मतभार छुट्टाछुट्टै गणना हुन्छ ।
स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ गणना हुन्छ । लुम्बिनी प्रदेशमा १०९ स्थानीय तह र प्रदेश सभामा ८७ सांसद छन् । यसरी हेर्दा उपनिर्वाचनका ३०५ मतदाता रहेका छन् । कूल मतभार ८ हजार १०० हुन आउँछ । पहिलो मतदान लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले गर्ने तयारी छ ।