२८ जेठ २०८३, बिहीबार

सिरिया भूकम्प : भग्नावशेषबाट सालनालसहित निकालियो जीवित शिशु, आमाको मृत्यु

माघ २५, २०७९
सिरिया भूकम्प : भग्नावशेषबाट सालनालसहित निकालियो जीवित शिशु, आमाको मृत्यु

उत्तरी सिरियामा भूकम्पका कारण भत्किएको एक घरबाट सालनालसहितको एक जीवित शिशुको उद्धार गरिएको छ । 

सोमवार बिहान आएको ७.८ म्याग्निच्युडको भूकम्पले घर भत्काउँदा ती शिशु मात्र बाँचेकी छन् । उनको परिवारका सबै सदस्यहरूको मृत्यु भएको छ । 

जिन्दाइरिस गाउँमा भग्नावशेष खोतल्दै गर्दा आफूहरूले एउटा आवाज सुनेको शिशुका आफन्त खलिल अल–सुवादी बताउँछन् । 

‘हामीले धूलो हटायौं र सालनालसहितको शिशु देख्यौं । त्यसपछि हामीले सालनाल काट्यौं अनि मेरी भतिजीले शिशुलाई अस्पताल लगिन्,’ सुवादी बताउँछन् । 

शिशुलाई उपचारका लागि नजिकैको आफ्रिन शहर लगिएको थियो । 

अनि शिशुका आफन्तहरूले घन्टौं लगाएर उनका पिता अब्दुल्लाह, आमा अफ्रा, चार दाजुभाइ दिदीबहिनी र एक काकीको शव निकालेका थिए । 

मृत शरीरहरूलाई नजिकै रहेका अर्का एक आफन्तको घरमा राखिएको थियो । मंगलवार उनीहरूको सामूहिक अन्त्येष्टि गरिएको थियो । 

धमिलो एउटा कोठामा सुवादीले मृत शरीरलाई हेरी तिनको नाम बताएका थिए । 

‘हामी सरकारी नियन्त्रणमा रहेको देइर एज्जोरबाट विस्थापित भएका हौं,’ उनले बताए, ‘अब्दुल्लाह मेरा साला हुन् । मैले उनकी दिदी बिहे गरेको हुँ ।’

जिन्दाइरिसमा भूकम्पका कारण ५० वटा घर धराशायी भएको एएफीले खबर दिएको छ । 

भग्नावशेषबाट निकालिएकी शिशुलाई आफ्रिनको एक अस्पतालको इन्क्युबेटरमा राखिएको छ । शिशुलाई इन्ट्राभिनस ड्रिपमार्फत पानी चढाइएको छ । शिशुको शरीरमा चोटपटक छ भने देब्रे मुट्ठीमा ब्यान्डेज लगाइएको छ । 

कठ्यांग्रिदो चिसोका कारण शिशुको निधार र औंलाहरू अझै पनि नीला छन् । शिशुरोग विशेषज्ञ हानी मारूफ शिशुको निगरानी गरिरहेका छन् । 

‘अहिले शिशुको अवस्था स्थिर छ,’ मारूफ बताउँछन् । 

तर अस्पताल ल्याउँदा शिशुको शरीरभरि चोटपटक र काटिएको घाउ रहेको उनले जानकारी दिए । 

‘शिशुलाई अत्यधिक चिसोका कारण हाइपोथर्मिया भएको थियो । हामीले उनलाई न्यानो बनायौं अनि क्याल्सियम दियौं ।’
 

salt training

कमेन्ट गर्नुहोस्