०३ असार २०८३, बुधबार
पहाडी जिल्ला हाँक्ने तराईकी छोरी

प्रदेशका ४ जिल्ला हाँकेका महिला सीडीओ

माघ २८, २०७९
प्रदेशका ४ जिल्ला हाँकेका महिला सीडीओ

१ नम्बर प्रदेशका १४ जिल्लामध्ये ४ जिल्लामा महिला प्रमुख जिल्ला अधिकारी (सीडीओ) छन् । ताप्लेजुङ, ओखलढुंगा, धनकुटा र सुनसरीमा महिलाले प्रशासनिक नेतृत्व सम्हालेका छन् ।

पहाडी जिल्ला ओखलढुंगाको नेतृत्व तराईकी छोरीले गरेकी छन् । ओखलढुंगाको सीडीओ मधेशी समुदायकी प्रदर्शनी कुमारी छन् ।

उनी मधेशी समुदायबाट सीडीओ बन्ने पहिलो महिला पनि हुन्, उनी उपसचिव हुन् ।

बारा जिल्लामा जन्मेकी उनको पठनपाठन काठमाडौंमा भएको थियो । बुवाआमाले नै छोरी पढाउनुपर्छ भन्ने मान्यता राखेका कारण आफूलाई अवसर आएको उनी बताउँछिन् । बुबा रामअयोध्या प्रसाद कलवार नेपाली सेनामा जागिरे थिए ।

उनले २०६२ सालमा निजामती सेवामा जागिर शुरू गरेकी हुन् । उनका भाइबहिनी वैदेशिक रोजगारीमा छन् । शाखा अधिकृतबाट जागिर शुरू गरेकी प्रदर्शनी कुमारी २०६९ सालमा उपसचिव भएकी थिइन् ।

योजना आयोग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, धनुषाको सहायक प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय जोखिम विपद् जोखिम तथा न्यूनीकरण व्यवस्थापन प्राधिकरणमा काम गरेकी उनी सीडीओ पहिलोपटक भएकी हुन् । ‘जिल्ला प्रशासन कार्यालय सबै ठोक्किने ठाउँ भएकाले गुनासा पनि धेरै आउँछन्,’ उनले भनिन्, ‘शान्ति सुरक्षा कायम गर्ने जिम्मा भएकाले पनि अन्यभन्दा सोचनीय हुनुपर्ने अवस्था छ ।’ छोरीलाई पढाउनु हुँदैन भन्ने तराईको समुदायलाई उछिन्दै पढेको उनी बताउँछिन् ।

धनकुटाको प्रशासनिक नेतृत्व सम्हालेकी लीलाकुमारी केसी पाण्डे पनि उपसचिव हुन् । प्रमुख जिल्ला अधिकारी (सीडीओ) भएर काम गरेको उनको यो दोस्रो कार्यकाल हो । पहिलो कार्यकालमा उनले रामेछापमा सीडीओ भएर काम गरेकी थिइन् । ओखलढुंगामा जन्मिएकी उनले आधारभूत तहको  पढाइ पनि त्यहीँबाट गरेकी थिइन् । छोरी पनि पढ्नुपर्छ भन्ने मान्यता बुवाको भएकै कारण पढ्न पाएको उनले बताइन् । बुवा खड्गबहादुर खत्री ओखलढुंगा गाउँ पञ्चायतका प्रधानपञ्च थिए । 

घरमा ६ जना दिदीबहिनी र २ दाजुभाइमध्ये उनी कान्छी हुन् । उनका २ दिदीहरू पनि सरकारी सेवामै छन् । ठाइँली र काइँली दिदी सरकारी जागिरमा छन् । काइँली रेनुका केसी सबइन्जिनीयर भएर पुरातत्व विभागमा कार्यरत छिन् भने  ठाइँली शकुन्तला केसी जाल्पा माध्यमिक विद्यालय ओखलढुंगाकी शिक्षिका हुन् ।

केसीले स्नातक सक्ने बित्तिकै अधिकृतमा नाम निकालेकी थिइन् । निजामती सेवामा प्रवेश गरेको फागुनमा २० वर्ष पुग्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, पर्यटन कार्यालय नाम्चे सोलुखुम्बुमा पहिलो प्रमुख भएर उनले संरचना बनाएकी थिइन् ।

सामान्य प्रशासन मन्त्रालय, योजना आयोगमा बसेर पनि उनले काम गरेकी थिइन् । २०७४ सालदेखि उनले गृह मन्त्रालयमै बसेर काम गरेकी थिइन् । पहिलो अनुभव नभएकाले काम गर्न सजिलो हुने उनले बताइन् । लैंगिकताभन्दा पनि क्षमताले काम गर्ने भएकाले पुरुष र महिला भन्न नहुने उनको तर्क छ ।

सुनसरीमा पनि पहिलोपटक महिला सीडीओ हुमकला पाण्डेले नेतृत्व गरेकी छन् । यसअघि भक्तपुर तथा काभ्रेमा पनि प्रमुख जिल्ला अधिकारी (सीडीओ) भइसकेकी पाण्डेले अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको छत्रदेव माध्यमिक विद्यालयबाट एलएलसी उत्तीर्ण गरेकी थिइन् । महेन्द्ररत्न क्याम्पस ताचहल पढ्दा उनले दिउँसो निजी विद्यालयमा पढाउने गर्थिन् । उनले स्नातकोत्तर त्रिचन्द्र कलेजबाट गरेकी हुन् । प्रथम श्रेणीमा पास गरेपछि उनलाई त्यहीँ जागिर पनि पाइयो ।

क्याम्पस टप गर्नेलाई पढाउन दिने गरिएकाले कलेजमा पढाएको उनले सुनाइन् । उनले २०६० सालदेखि ३ वर्षसम्म त्रिचन्द्रसहित अन्य कलेजमा पनि पढाइन् । २०६३ सालमा नै  शाखा अधिकृतमा पास गरेकी उनले २०६८ सालमा उपसचिवमा नाम निकालिन् । दक्षिण कोरियाबाट उनले कृषि विषयमा स्नातकोत्तर गरेकी छन् ।

२०७५ सालमा उनले सहसचिवमा नाम निकालिन् । जागिर र  पढाइ पनि सँगसँगै लगेको उनले बताइन् । ३ दिदीबहिनी र ६ दाजुभाइमध्ये उनी जेठी छोरी हुन् । ६ जना दाजुभाइ व्यावसायिक छन् भने ३ जना दिदीबहिनी जागिरमा छन् । उनले लोकसेवाका सबै परीक्षाहरू खुलाबाट पास गरेकी छन् ।

‘मैले खुलाबाट पास गरेकै कारण आरक्षण कोटामा अर्काे महिलाले स्थान पाउनुभयो,’ उनले भनिन् । आरक्षणले महिलालाई कानूनी तहसम्म पुग्ने अवसर दिएको पनि उनले बताइन् । 

ताप्लेजुङले पहिलोपटक महिला सीडीओ पाएको छ । माघ १८ गतेदेखि ताप्लेजुङले गोमा चेम्जोङलाई महिला सीडीओ पाएको छ । उनी यसअघि भोजपुर र सिन्धुपाल्चोकको सीडीओ भएकी थिइन् । 

महिला भएर जिल्लामा आउँदा सेवाग्राही पनि खुशी हुने गरेका उनी बताउँछिन् । व्यावसायिक दक्षतालाई कायम गर्दै महिलाले इमानदारीपूर्वक काम गर्छन् भन्ने देखाउने महिला सीडीओहरूको भनाइ छ । महिला तथा बालबालिकाका समस्या पनि महिलाले सजिलै उठाउन सक्छन् भन्ने भरोसा नागरिकमा पनि रहेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्