प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भ्रष्टाचारविरुद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुने बताएका छन्।
अख्त्यिार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शनिबार प्रधानमन्त्री प्रचण्डले नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य भएको बताए।
उनले संवैधानिक निकायको रुपमा स्थापित यो संस्थाले भ्रष्टाचार निवारणमार्फत सुशासन कायम गर्न स्वतन्त्र, निष्पक्ष र निर्भिक ढंगले भ्रष्टाचार र अनियमितताबिरुद्ध अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन दृढताकासाथ अघि बढ्ने विश्वास व्यक्त गरे।
सरकारको नीतिगत प्राथमिकता तथा न्यूनतम कार्यक्रममा भ्रष्टाचार नियन्त्रणमा संलग्न निकायलाई कानून, जनशक्ति, श्रोत र साधनसहित अधिकारसम्पन्न बनाइने प्रचण्डले बताए।
भ्रष्टाचार नियन्त्रण र सदाचार प्रत्याभूत गर्न एवं भ्रष्टाचार र अख्तियार दुरुपयोगसँग जोडिएका विषयको छानबिन र अनुसन्धान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र भ्रष्टाचारीमाथि कानूनी कारबाही बढाउने प्रतिबद्धता जनाए।
भ्रष्टाचारमुक्त र सदाचारयुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ नेपालको संविधानले आयोगलाई प्रदान गरेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने सवालमा आयोगलाई सरकारको तर्फबाट हर प्रकारको सहयोग र समर्थन गर्ने प्रतिबद्धता पनि जनाए।
उनले शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइजस्ता आधारभूत सेवादेखि राष्ट्रिय परिचय पत्र, नागरिकता, राहदानी, सवारी चालक अनुमति पत्रलगायत प्रशासनिक सेवा सरल, शीघ्र, सुलभ र पारदर्शी बनाउन सरकार संवेदनशील भएको बताए।
सेवा प्रवाह गर्ने सार्वजनिक निकायहरुमा सदाचार अभिवृद्धि गर्न सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत सेवा प्रदायक र सेवाग्राहीबीचको प्रत्यक्ष सम्पर्कलाई घटाइ सेवा प्रवाहमा हुनसक्ने ढिलासुस्ती, हैरानी र अनुचित लेनदेन न्यूनीकरण गर्न कार्ययोजना बनाई काम थालनी भइसकेको दाबी गरे।