
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारमा ल्याउनेबारे छलफल भइरहेको बताएका छन् ।
रास्वपालाई सरकारमा ल्याउन केही प्राविधिक समस्या रहेको उनले बताए ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै लिङ्देनले उपयुक्त समयमा रास्वपा सरकारमा आउन सक्ने बताएका हुन् ।
‘रास्वपालाई सरकारमा ल्याउनेबारे पनि छलफल भयो । उपयुक्त समयमा रास्वपा सरकारमा आउन सक्छ । केही प्राविधिक कुरा छन्,’ पत्रकारले सोधेको एक जिज्ञासामा लिङ्देनले भने ।
सरकारबाट बाहिरिएको रास्वपाका सभापति रवि लामिछाने संयन्त्रको बैठकमा सहभागी भएका थिए । बैठकमा चितवन– २ मा उपचुनाव छिट्टै गर्ने सहमति भएको स्रोतले बतायो ।
रास्वपा सभापति रवि लामिछाने पदमुक्त भएपछि चितवन– २ सांसदविहीन छ ।