
नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अबको राष्ट्रपति एमालेको उम्मेदवार नै बन्ने दाबी गरेका छन्।
वीरगन्जमा आज आयोजित प्रेस चौतारी नेपालको सङ्गठन सुदृढीकरण कार्यशालामा उहाँले राष्ट्रपतिको निर्वाचनपछि सत्ता गठबन्धन टुट्ने हौवा मात्रै भएको बताए।
गुरुङले भने, 'गत पुसमा एमाले र माओवादीबीच भएको सहमतिमा प्रधानमन्त्री र सभामुख आलोपालो हुने तथा राष्ट्रपति एमालेले पाउने सहमति भएअनुरूप नै राष्ट्रपति एमालेकै उम्मेदवार बन्छ । त्यसैले ढुक्क भएर बसे हुन्छ ।'
एमालेले अहिलेको सत्ता गठबन्धनलाई नै टिकाएर देशमा राजनीतिक स्थायित्व, विकास र समृद्धिको बाटोमा अगाडि बढाउने उद्देश्य राखेका उल्लेख गर्दै उनले दल बाहिरको व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा एमालेलाई स्वीकार्य नहुने बताए।
गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा फर्काउने, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा सामेल गराउने तयारी भइरहेको पनि जानकारी दिए।