२६ असार २०८३, शुक्रबार

एक करोड लगानीमा ‘मङ्गलाइन्द्रेणी उद्यान’ निर्माण

एक करोड लगानीमा ‘मङ्गलाइन्द्रेणी उद्यान’ निर्माण

म्याग्दीको मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरमा  ‘मङ्गलाइन्द्रेणी उद्यान’ निर्माण गरिएको छ । मङ्गला–२ बाबियाचौर निवासी समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले निःशुल्क उपलब्ध गराएको जग्गामा गाउँपालिका, गण्डकी प्रदेश सरकार र डिभिजन वन कार्यालयस मेतको रु एक करोड लागतमा बहुउद्देश्यीय उद्यान निर्माण गरिएको हो । 

आइतबार एक समारोहबीच उक्त उद्यानको गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष प्रेमकुमारी क्षेत्री र जग्गादाता अधिकारीले शुभारम्भ गरे । आर्थिक वर्ष २०७५-०७६ मा शरु गरिएको उद्यानको निर्माण सकिएपछि औपचारिक रुपमा शुभारम्भ गरिएको हो  । उद्यानमा सङ्ग्रहालय, खानेपानी, गार्डेन, बालउद्यान, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, शौचालयलगायतका पूर्वाधार निर्माण गरिएको छ ।

गाउँपालिकाको केन्द्रमा आउने पर्यटकको आकर्षण र स्थानीय बालबालिका, युवायुवती र ज्येष्ठ नागरिकको फुर्सदको समयलाई उचित सदुपयोगका लागि उद्यान सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष रोकाले बताए । 

उद्यानको विभिन्न भागमा रेलिङ र सिँढी बनाइएको छ । शारीरिक व्यायामका लागि रनिङ स्पट बनाइएको छ । स्थानीय मौलिक संस्कृति र परम्परागत सामग्रीको संरक्षणका लागि सङ्ग्रहालयसमेत स्थापना गरिएको छ । उद्यान बनाउन समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले तीन रोपनी, १५ आना, तीन पैसा दुई दाम क्षेत्रफलको जग्गा निःशुल्क उपलब्ध गराएका हुन् ।  

त्यसैगरी थप पाँचआना क्षेत्रफलको जग्गा खरिद गर्न गाउँपालिका अध्यक्ष रोकाले रु एक लाख र मङ्गला युवा क्लबले रु दुई लाख आर्थिक सहयोग गरेको थियो । आइतबार उद्यान शुभारम्भका अवसरमा जग्गा दाता र सहयोग दातालाई सम्मानसमेत गरिएको थियो ।  

“हामीले यहाँको विकासका लागि यो जग्गा निःशुल्क दान गरेका हौँ, खोलाको किनारको जग्गामा आज उद्यान स्थापना भएको छ, यसले दीर्घकालीनरुपमा मङ्गला गाउँपालिकाको विकासमा रचनात्मक सहयोग पुग्ने हामीले विश्वास लिएका छौँ”, अधिकारीले भने । म्याग्दी नदी किनारमा निर्माण भएको उद्यान स्वच्छ र शान्त वातावरणसहित बालबच्चादेखि वृद्धवृद्धासम्म सबैलाई मनोरञ्जन र आनन्दको महसुस हुनेगरी निर्माण गरिएको छ । 

उद्यानलाई हरियाली र आकर्षक बनाउन खण्ड खण्ड बनाएर विभिन्न प्रजातिका फूल रोपिएको छ भने बाह्रैमास हरियो हुने दुबो पनि सारिएको छ । उद्यान सञ्चालनमा आएसँगै मङ्गलामा आन्तरिक पर्यटन प्रवर्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षेत्रीले जानकारी दिए । रासस

salt training

कमेन्ट गर्नुहोस्