
पश्चिम मकवानपुरको मनहरी गाउँपालिकामा हात्तीको आक्रमणबाट १ जना महिला घाइते भएकी छन् ।
मनहरी गाउँपालिका–४ गोलघरमा केहीबेर हात्तीले स्थानीय महिलामाथि आक्रमण गरेको वडाध्यक्ष प्रकाश थापाले बताए । ६० वर्षीया राधादेवी अधिकारी हात्तीको आक्रमणबाट घाइते भएकी छन् ।
उनलाई उपचारका लागि अहिले हेटौंडास्थित चुरेहिल अस्पताल ल्याइएको छ ।
हात्तीको आक्रमणले स्थानीय महिला घाइते भएपछि आक्रोशित स्थानीयले मनहरी गाउँपालिका–३ लामिटारमा रहेको पर्सा राष्ट्रिय निकुञ्जको लामिटार पोस्टमा तोडफोड गरेका छन् । पटक–पटक यस्तो घटना हुँदा पनि हात्ती नियन्त्रणमा लिन निकुञ्ज व्यवस्थापनले बेवास्ता गरेको भन्दै स्थानीय आक्रोशित बनेका छन् । आक्रोशित स्थानीय वासिन्दाले नेपाली सेनाले निकुञ्ज सुरक्षा गस्तीका लागि प्रयोग गर्दै आएको गाडी, कार्यालय र गोलघरमा क्षति गरेको स्थानीय गणेश पौडेलले जानकारी दिए ।

