
अमेरिकाका राष्ट्रपति जो बाइडनले युक्रेनको राजधानी किएभ भ्रमण गर्न खोजेको जानकारी रुसलाई पहिले नै दिइएको खुलासा भएको छ ।
गोप्य रूपमा सोमवार किएभ पुगेका बाइडन अमेरिकाबाट हिँड्ने बेलामा अमेरिकी अधिकारीहरूले रुसलाई जानकारी दिएका हुन् । किएभ भ्रमणको बेलामा अप्रिय घटना नहोस् भनी सतर्कता अपनाउँदै पूर्वसूचना दिइएको हो ।
उक्त भ्रमणको योजना विगत कैयौं महिनादेखि बनाइएको थियो । बाहिर पत्रकारहरूलाई बाइडनको युक्रेन भ्रमणको कुनै योजना नरहेको भनिएको थियो । तर भित्रभित्रै यसको योजना बुनिँदै थियो ।
अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभानले बताए, ‘राष्ट्रपति बाइडन किएभ जाँदै हुनुहुन्छ भनी हामीले रुसीहरूलाई खबर गरेका थियौं । उनीहरूले के जवाफ दिए भनी म खुलाउन चाहन्नँ ।’
बाइडन आइतवार राति १० बजे युक्रेनभित्र प्रवेश गरेका थिए । उनले पोल्यान्डको प्रिजेमिसिल शहरबाट किएभसम्म पुग्ने ट्रेन चढेका थिए । ट्रेनका आठवटा बोगीमा उनका सुरक्षाकर्मीहरू खचाखच थिए ।
बाइडनको युक्रेन भ्रमण उक्त देशलाई पश्चिमको अनवरत सहयोग जारी छ भन्ने सन्देश दिनका लागि भएको पश्चिमी सञ्चारमाध्यमहरूले खबर दिएका छन् ।