०३ असार २०८३, बुधबार

बुटवलमा २५ वर्षपछि पशु वधशाला : उपभोक्तालाई स्वच्छ मासु, फोहोरबाट बायोग्यास

फागुन ९, २०७९
बुटवलमा २५ वर्षपछि पशु वधशाला : उपभोक्तालाई स्वच्छ मासु, फोहोरबाट बायोग्यास

लुम्बिनी प्रदेशका धेरैजसो प्रमुख शहर तथा व्यापारिक केन्द्रका अधिकांश मासु पसलहरू अस्वस्थकर रहेको रिपोर्ट गुणस्तर कार्यालयले प्रत्येक वर्ष सार्वजनिक गर्छ । उपभोक्ताहरू सडकपेटी, मुख्य राजमार्ग, खुला स्थान र ‘बेसिक’ मापदण्ड पूरा नगरी सञ्चालित मासु पसलको मासु उपभोग गर्न बाध्य छन् । 

स्थानीय सरकार, प्रशासन, उपभोक्ता हित संरक्षण मञ्च, गुणस्तर तथा वाणिज्य कार्यालयबाट हुने अनुगमनमा अस्वस्थकर मासु बिक्री हुने पसलको अनुगमन भए पनि कारवाही हुँदैन । अस्वस्थकर मासु बन्देज हुने गरी आर्थिक वर्ष २०६६/६७ सालमै बुटवलमा पशु वधशाला निर्माणको शुरूआत गरिएको थियो तर निर्माण गर्ने निकायको ढिलाइले वधशाला सञ्चालनमा पनि ढिलाइ भयो ।

वधशालाका लागि विभिन्न समयमा विभिन्न निकायबाट करीब २७ करोड रूपैयाँ खर्च भइसकेको छ । पूर्वाधारहरू जीर्ण हुने अवस्थामा छन् । बुटवल उपमहानगरका निवर्तमान मेयर शिवराज सुवेदीको पालामा सार्वजनिक निजी साझेदारीमा वधशाला सञ्चालन गर्ने मोडालिटी बन्यो । त्यसैअनुरूप बजेट विनियोजन भई पूर्वाधार निर्माण तयार भएको छ ।

सञ्चालनका लागि निजी क्षेत्रलाई दिने र सोबापत भाडा असुल्ने गरी बनेको योजना कार्यान्वयनमा गई परीक्षण समेत सफल भएको छ । अब बुटवलका मासु पसलहरूले जथाभावी खसीबोका काटेर बिक्री गर्न पाउने छैनन्, वधशालाबाट मासु किनेर ल्याई बिक्री गर्नुपर्नेछ ।

मासु पसल अब बिक्री केन्द्र मात्र हुनेछन्, बुढा भएका र रोगी खसीबोका काटेर बिक्री गरिने छैन । 

वधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिबीच पशु वधशाला सञ्चालन गर्ने सहमति भएको छ । २ पक्षबीच भएको सहमति अनुसार पशु वधशाला छिट्टै सञ्चालनमा आउने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बताए ।

सार्वजनिक, निजी, सहकारी उत्पादक साझेदारी अवधारणा बमोजिम वधशालालाई व्यवस्थित रूपमा सञ्चालन गर्ने गरी बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई जिम्मा दिइनेछ । वधशाला सञ्चालनका लागि उत्पादक किसान र मासु व्यवसायीले गठन गरेको बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ । 

वधशाला सञ्चालनमा बाख्रापालन गर्ने किसानदेखि मासु बिक्री गर्ने व्यवसायीसम्म निर्माण र सञ्चालनमा साझेदार रहेका र सोहीअनुसार वधशाला सञ्चालन हुनेछ । वधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाले नगर सभाबाट पशु वधशाला सञ्चालन र व्यवस्थापन विधेयक २०७९ पारित गरेको छ ।

विधेयकले पशु वधशाला सञ्चालन तथा व्यवस्थापन गर्ने, मापदण्ड पूरा गरी वध गर्ने, बिक्री केन्द्रसम्म ओसारपसार गर्दा मापदण्ड पूरा भएका साधनको मात्रै प्रयोग गर्ने, मासु बिक्री गर्न इजाजत लिनुपर्ने व्यवस्था गरेको छ । कानूनी हिसाबले समेत सहज हुने गरी वधशाला सञ्चालन हुने र यसबाट बुटवलवासीले स्वस्थ र स्वच्छ मासु उपभोग गर्न पाउनेछन् । 

वधशाला सञ्चालनका लागि १ हप्ताभित्र विस्तृत सम्झौता हुने र लगत्तै सञ्चालन हुने गरी सहमति भएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए । पन्थीले वधशाला सञ्चालन तथा व्यवस्थापनका लागि कार्यदल गठन भएको र कार्यदलले नियमित रूपमा अनुगमन र व्यवस्थापन समेत गर्ने निर्णय भएको बताए । बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालि रुपन्देही मासु व्यवसायी संघका अध्यक्ष कृष्णप्रसाद पौडेलले बुटवल उपमहानगरपालिकासँग पशु वधशाला सञ्चालनका लागि देखिएका अन्योल टुंगिएकाले छिट्टै नै वधशाला सञ्चालन हुने बताए ।

वधशालाको परीक्षण समेत भइसकेकाले सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा गरेर वधशाला सञ्चालनमा ल्याइनेछ । 

वधशाला सञ्चालन र व्यवस्थापन गर्ने बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिले बुटवल उपमहानगरपालिकालाई वार्षिक ४७ लाख ३० हजार रुपैयाँ बुझाउनेछ । बुटवल उपमहानगरपालिका–१० रामनगरमा २ विगाह ३ कठ्ठा क्षेत्रफलमा वधशाला निर्माण भएको छ । वधशालामा लुम्बिनी प्रदेश सरकार, बुटवल उपमहानगर, हेफर इन्टरनेसनल सहितको लगानी छ । दैनिक १ हजार खसीबोका वध गर्न मिल्ने गरी वधशाला बनाइएको छ । यहाँ बाख्राको चरन, होल्डिङ सेन्टर, पशु स्वास्थ्य जाँच तथा उपचार कक्ष, वधशालामा खटिनेहरूका लागि प्राथमिक उपचार कक्ष, सुरक्षा कक्ष, फोहोर प्रशोधन केन्द्र, हरियाली उद्यान र बगैंचा निर्माण भएका छन् । यहाँबाट निस्किने फोहोरलाई प्रशोधन गरेर बायो ग्यास निकालिनेछ भने पानीलाई पुनः प्रयोग गर्न मिल्ने गरी प्रशोधन गर्ने योजना छ ।

वधशाला निर्माण तथा सञ्चालनको प्राविधिक तथा सामाजिक परिचालनको जिम्मा लिएको हेफर र उपमहानगरबीच भएको सम्झौताअनुसार वधशाला निर्माणपश्चात् उत्पादक किसानहरू र मासु व्यवसायीले गठन गरेको बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिले वधशाला सञ्चालन गर्ने सहमति छ ।

बुटवल वधशालामा करीब १२ हजार खसीबोका उत्पादक महिला किसान र ३०० जना मासु व्यवसायी सहभागी हुने बताइएको छ । रूपन्देहीमा दैनिक २०० खसीबोकाको मासु खपत हुँदै आएको छ । वधशालामा वध गर्ने अन्य ८०० सम्म खसीबोका लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा लगेर बिक्री सकिन्छ ।

उपभोक्ता हित संरक्षण मञ्चका लुम्बिनी प्रदेश अध्यक्ष तेजकुमार पाठकले वधशाला सञ्चालनमा आएपछि मासुको गुणस्तर र स्वच्छता नमूना हुने बताए । ‘अब यहाँका मासु पसलहरू बिक्रीका लागि मात्र हुन्,’ पाठकले लोकान्तरसँग भने, ‘भारतबाट तेल ल्याएर नेपाल आयलमा राखिन्छ । त्यहाँ पुगेर यहाँका पेट्रोल पम्पहरूले इन्धन ल्याएर बिक्री गरेजस्तै अब । यहाँमा मासु पसलले वधशालामा पुगेर मासु खरिद गरेर मात्र बिक्री गर्नुपर्छ ।’

बुटवलमा वधशाला आवश्यक छ भनेर विक्रम संवत् २०५५ सालमा उपभोक्ताबाट उठेको आवाजले साढे २ दशकपछि पूर्णता पाएको छ । 

पहिलो चरणमा खसीबोका मात्रै काट्ने गरी पशु वधशाला सञ्चालनको चरणमा छ । अबको चरणमा राँगा, बंगुर र कुखुरा वध गर्ने गरी बृहत् पशु वधशाला पनि बुटवलमा आवश्यक रहेको उपभोक्ता अधिकारकर्मी पाठकको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्