३० असार २०८३, मंगलबार
लघुवित्तले उठीबास

लघुवित्तको ज्यादतीः मध्यरातसम्म ऋणीलाई यातना, शरीर बेचेर भए पनि ऋण तिर्न धम्की

लघुवित्तको ज्यादतीः मध्यरातसम्म ऋणीलाई यातना, शरीर बेचेर भए पनि ऋण तिर्न धम्की

लघुवित्त वित्तीय संस्थाहरूले घरमै पुगेर यातना दिने गरेको भन्दै ऋणीहरूले लघुवित्त खारेज गर्नुपर्ने माग गरेका छन् ।

पछिल्लो समय लघुवित्तका कारण गाउँमा बस्ने महिलाहरू असुरक्षित महसु गर्नुका साथै तराईका जिल्लाहरूमा ऋणीहरू यातना खेप्न बध्य भएका हुन् ।

लघुवित्तहरूले ऋण तिर्न नसकेको भन्दै मध्यरातमा घरमै पुगेर यातना दिने गरेको र लघुवित्तकै कर्मचारीले ऋणको दुरुपयोग गरी मिटर ब्याजमा पैसा लगाउने गरेको पीडितहरूले बताए ।

लघुवित्तको कर्मचारी भन्ने तर लघुवित्तको ऋणको दुरुपयोग गरी गाउँघरमा महिलाहरूलाई मिटर ब्याजमा पैसा लिन प्रोत्साहन गर्ने काम भइरहेको पीडितहरूको आरोप छ ।

गाउँघरमा लघुवित्त संस्थाका कर्मचारीले शुरूमा समूह निर्माण गर्ने जतिसुकै संस्थाबाट पनि ऋण लिन सकिने तर किस्ता भने नियमित तिर्नुपर्ने भन्दै ऋण लिन प्रोत्साहन गर्ने गरेका छन् ।

लघुवित्तहरूले ऋण तिर्न नसक्नेहरूको नाम पत्रिकामा छापिदिने, कर्मचारीलाई मध्यरातमा समेत ऋणीहरूको घरमा पठाउने र कर्मचारीहरूले मानसिक र शारीरिक यातना दिने गरेको बताए ।

किस्ता तिर्न नसक्दा लघुवित्तले हरेक वर्ष ब्याजसमेत सावाँमा जोडेर नयाँ ऋण बनाउने गरेको उनीहरूले बताए ।

सोमबार काठमाडौंमा भएको एक कार्यक्रम महोत्तरीकी लघुवित्त पीडित पुनमकुमारी महतोले २०७२ सालदेखि लघुवित्त र मिटर ब्याजीको समस्या खेप्नुपरेको बताइन्।

पछिल्लो समय तराईका जिल्लाहरूमा मिटरब्याजी साहुहरूले महिलाहरूलाई सडकमा निर्वस्त्र बनाएर कुटपिट गरेको समेत उनले गुनासो गरिन्।

उनले तराईमा लघुवित्तको कारण महिलाहरू घर बस्न समेत नसकेको उनले दुःखेसको पोखिन्।

लघुवित्तका कर्मचारीहरू रातिसमेत घरमा गई शरीरमा थुक्ने, शरीर व्यापार गरेर भए पनि ऋण तिर् भन्दै यातना दिने गरेको कारणिक अवस्था रहेको उनले बताइन्। 

लघुवित्तले ऋण तिर्न नसक्ने महिलाहरूलाई शौचालयमा थुनिदिनेसम्मको याताना दिने गरेको पीडा उनले बताइन्। 

लघुवित्तहरूले घरमा ताल्चा लगाएकाले धेरै महिलाहरू घरबारविहीन हुनुपरेको उनको भनाइ थियो। घरमा आमा बुबाको वृद्धभत्ताको पासबुक लगेर पैसा निकालेर लघुवित्तले मनोमानी खाने गरेको उनले गुनासो गरिन्। 

यस्तो छ उनको पीडा, उनकै शब्दमा

सिराहको गोलबजारमा लघुवित्तका कर्मचारीहरूले आफैँ मिटर ब्याजमा पैसा लगाएर ५ हजारको महिनामा १ हजार लिने गरेको छ । लघुवित्तको कर्मचारी भएर बस्ने तर लाखौं रुपैयाँ मिटर ब्याजमा लगाउने गरेको छ । लघुवित्त र मिटर ब्याजीको समस्यामा हामी २०७२ सालदेखि पिडामा छौं । मिटर ब्याजीहरूले महिलाहरूलाई चोकचोकमा लगाएरको सारी खोलेर कुट्छन् ।

तराईका गाउँमा महिला दिदी बहिनीहरू लघुवित्तको कारण बस्न सकेका छैनन् । लघु वित्तका कर्मचारीहरू रातिको ९ बजेपछिसम्म चुलोको पछाडि खाना बनाउने ठाउँमा बस्छन् । शरीरमा थुक्ने गर्छन् । झुन्डिएर,बिस पिएर मर भन्ने गर्छन् । शरीर व्यापार गर् भन्छन् । के हामी यो देशको नागरिक होइन ? यो देशमा बस्ने अधिकार हामीलाई छैन ? लघुवित्तले ऋण तिर्न नसक्ने महिलाहरूलाई शौचालयमा थुनिदिन्छ ।

मेरो घरमा बसेर जे भन्छु त्यही गर् भन्छन् । लघुवित्त संस्थाहरूले कर्मचारी राखेको हो की तानाशाह राखेको हो ? धेरै महिलाहरू लघुवित्तको कारण गाउँ छाडेर भागिसकेका छन् । लघुवित्तहरूले घरमा ताल्चा मार्ने गरेको छ । घरमा आमा बुबाको वृद्धभत्ताको पासबुक लगेर पैसा निकालेर लघुवित्तले खाने गरेको छ । शुरुमा पाँच वटा लघुवित्त समूहमा थिए ।’

त्यस्तै सिराहाकी सुनिता विश्वकर्माले लघुवित्त संस्थाबाट लिएको १ लाख ५० हजार ऋण पाँच वर्षसम्म तिर्दा पनि अहिलेसम्म नसकिएको बताइन्। 

११ वटा लघुवित्त समूहबाट उनले ऋण लिएकी थिइन्।

आफूले एउटामा ३० र अर्कोमा ४० हजार रुपैयाँ ऋण तिर्न भए पनि लघुवित्तले १ लाख नै रहेको भन्दै तत्काल तिर्न दबाब दिँदै आएको बताइन्। लघुवित्तका कर्मचारीहरू ऋण उठाउन बिहान १० बजेदेखि बेलुका १० बजेसम्म घरमा नै बस्ने गरेको उनको भनाइ थियो। लघुवित्तको ऋण तिर्दा तिर्दा भएका गाईवस्तु र लगाएको सुन समेत सकिएर सुकुमबासी जस्तै भएको गुनासो गरिन्। 

उनले भनिन्,‘मैले ११ वटा लघुवित्तबाट ऋण लिएको छु । बाख्रा र कुखुरा पालनको लागि १ लाख  र अर्कोबाट ५० हजार लिएको थिए । त्यो पैसा तिर्दै गयो । आदि भयो होला भन्यो लघुवित्तले तपाईको ऋण एक लाख नै हुन्छ । जति तिरे पनि सकिदैन । मैले दिनुपर्ने एउटामा ३० हजार अर्कोमा ४० हजार दिन बाँकी छ तर लघुवित्तले १ लाख छ तिर्न बाँकी भन्छन् । बिहान १० बजे लघुवित्तका कर्मचारी आए भने बेलुका १० बजेपछि मात्रै जानुहुन्छ । भएका गाई वस्तुहरू र भएको सुन समेत सकियो अहिले केही छैन ।’

त्यस्तै, रौतहट घर भएकी डिल्लीकुमारी कार्की मिटर ब्याजमा लिएको ऋण तिर्न लघुवित्तबाट ऋण लिएको बताइन्। उनले मिटर ब्याजमा पैसा दिनेले धेरै फसाएर सुकुमबासी बन्ने लागेको अवस्थामा लघुवित्तले झन पीडा थपेको बताइन्। 

कार्कीले मिटरब्याजी साहुले भएको जग्गा जमिनसमेत लिलाममा हालेर खाएको बताइन्। लघुवित्तबाट एक लाख रुपैयाँ ऋण लिएर महिनाको १२ हजार किस्ता बुझाउँदा समेत कहिल्यै नसकिने गरेको उनको पीडा थियो। 

फरवाड,मेरो माइक्रो,मिथिला,डिप्रोस,गरिबी र साना किसान लघुवित्तको समूहमा बसेर ऋण लिएको उनले बताइन्।

यी लघुवित्तहरूमा १ लाख रुपैयाँ ऋण लिँदा जति किस्ता तिरे पनि त्यति नै ऋण देखाउने गरेको उनले गुनासो गरिन्। कार्कीले लघुवित्तहरूको किस्ता तिर्दातिर्दै भएको सबै सम्पत्ति सकिएपछि संस्थाका कर्मचारीहरू घरमा आएर यातना दिँदा १३ वर्षको छोरीले तीन महिना अगाडि आत्महत्या गरेको बताइन्। अहिले लघुवित्तको कारण घर छाडेर भाडामा समेत बस्न नसक्ने अवस्थामा रहेको उनले दुःख पोखिन्। 

त्यस्तै,विभन्न बाहिर जिल्ला छाडेर काठमाडौं उपत्यकामा आएर लघुवित्त समूहमा बसेर ऋण लिएर व्यवसाय गर्ने कमला मुक्तान र सुनमाया तामाङलाई समेत लघुवित्तले यातना दिएको गुनासो गरेका छन् ।

उनीहरूलाई लघुवित्तहरू आफैँले समूह बनाएर ऋण लिन बोलाएको र अहिले एउटाले ऋण तिर्न नसक्नेको भन्दै सबै महिलाहरूको निक्षेप समेत दिन नमानेको बताए।

पढ्नुहोस् यो पनि 

एउटै व्यक्तिले धेरै लघुवित्तबाट ऋण लिन नपाउने प्रावधान ल्याउँदै राष्ट्र बैंक 

मन्त्री र सांसदले चलाएकै लघुवित्तद्वारा ऋणीलाई दबाब– कि 'मर' कि पैसा तिर !

salt training

कमेन्ट गर्नुहोस्