
विशेषज्ञसहित २३ चिकित्सकको दरबन्दी रहेको धवलागिरि अस्पताल बागलुङमा दरबन्दीका जम्मा २ चिकित्सक मात्रै कार्यरत छन् । १ मेडिकल सुपरिन्टेन्डेन्टसहित १६ विशेषज्ञ र ६ मेडिकल अधिकृतको दरबन्दी रहेको अस्पतालमा निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. अमित ढुंगाना र डा. अभिशेष वाग्ले मात्रै कार्यरत छन् ।
दरबन्दीका चिकित्सक नआउँदा छात्रवृत्ति र करारका चिकित्सकको सहयोगमा बिरामीको उपचार भइरहेको धवलागिरिमा पछिल्लो समय छात्रवृत्ति र करारका चिकित्सकसमेत आउन नमान्दा उपचार सेवा प्रभावित भएको छ । चिकित्सक अभावमा धवलागिरिमा डेढ महिनादेखि अत्यावश्यक प्रसूति सेवा प्रभावित बन्दै आएको छ । विशेषज्ञ चिकित्सक नहुँदा सामान्य ओपीडी सेवा मात्रै सञ्चालनमा ल्याइए पनि गर्भवतीको जटिल समस्या र शल्यक्रियाका लागि पोखरा सिफारिस गर्न अस्पताल बाध्य छ ।
प्रसूति विभाग मात्रै होइन, चिकित्सक अभावमा बालरोग विभाग, नाक, कान तथा घाँटी रोग विभाग र छाला रोग विभाग बन्द अवस्थामा छ ।
अस्पतालमा अहिले चिकित्सक अभावमा ओपिडीदेखि इमर्जेन्सी तथा आईसीयूसम्मकोे सेवामा प्रभाव पारेको धवलागिरि अस्पताल बागलुङका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. ढुंगानाले बताए । ‘१ हप्ताअघि मात्रै गण्डकी प्रदेश सरकारले करारका २ मेडिकल अधिकृत पठाएको छ, अहिले तत्कालका लागि स्त्रीरोग विशेषज्ञ र बालरोग विशेषज्ञसहित चिकित्सकको आवश्यकता छ, अभावबीच अस्पतालको अन्य सेवा निरन्तररूपमा चले पनि प्रसूति विभाग, बालरोग तथा नाक, कान घाँटीरोग विभाग सञ्चालनमा कठिनाइ छ ।’
डा. ढुंगानाले भने, ‘छात्रवृत्तिका चिकित्सकको भरमा चल्दै आएको अस्पतालमा लामो समयदेखि दरबन्दीका चिकित्सक आउन सकेका छैनन्, छात्रवृत्तिका चिकित्सकको समयावधि सकिएपछि फर्कनुहुन्छ, कोरोना त्रासमा थपिएका करारका चिकित्सकको करार नवीकरण भएन, दरबन्दीका ४ मेडिकल अधिकृत अध्ययन बिदामा हुनुहुन्छ ।’
तत्कालै ४ विशेषज्ञ र ४ मेडिकल अधिकृत नभएसम्म अस्पतालका सबै विभाग सञ्चालन गर्न कठिन उनले बताए ।
केही महिनाअघिसम्म छात्रवृत्तितर्फका ११ विशेषज्ञ चिकित्सक कार्यरत रहेको अस्पतालमा अहिले ५ जना मात्रै विशेषज्ञ छन् । अस्पतालमा करार र छात्रवृत्तितर्फका गरी जम्मा ६ र दरबन्दीका २ गरी १३ चिकित्सक कार्यरत रहेको धवलागिरिका प्रशासकीय अधिकृत तेजप्रसाद न्यूरेले जानकारी दिए ।
‘तेइस जनाको दरबन्दी रहेको अस्पतालमा जम्मा १३ चिकित्सक छन्, दरबन्दीका जम्मा २ जना हुनुहुन्छ, अहिले अस्पतालमा सघन उपचारकक्ष, बाल सघन उपचारकक्षलगायत मानसिक रोग विभागसहित धेरै सेवा थपिएका छन्,’ उनले भने, ‘दरबन्दी अनुसारका मात्रैले समेत नथेग्ने अस्पतालमा अहिले चिकित्सकको अभाव छ, दैनिक ओपीडी शाखामा मात्रै अहिले ४०० बिरामी आउँछन्, अस्पतालको भौतिक पूर्वाधार समेत धेरै बन्यो तर अस्पतालमा दरबन्दीका चिकित्सक ल्याउनै सकिएन ।’
चिकित्सक अभावबारे स्वास्थ्य मन्त्रालय र गण्डकी प्रदेश सरकारलाई पत्राचार गरिएको छ । छात्रवृत्तिका चिकित्सक समयावधि पुगेर फर्कनु र दरबन्दीका चिकित्सक अध्ययन बिदामा बस्दा समस्या भएको छ ।