
निर्वाचनको अंकगणितमा बहुमत देखिने गरी राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसले समर्थन जुटाएपछि केन्द्रीय कार्यालय सानेपामा चहलपहल देखिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारीनिवास बालुवाटारमा शुक्रवार भएको छलफलमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायत ८ दलले राष्ट्रपति चुनावमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका छन् ।

आज शनिवार राष्ट्रपतिको मनोनयन दर्ता गरिँदैछ । मनोनयन दर्ताअघि सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला राष्ट्रपतिका आकांक्षी भए पनि पौडेलको नाममा निर्णय हुने स्रोतको दाबी छ ।





