
बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. अर्जुन सापकोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार गरेको उजुरी परेको छ । सापकोटाले २५ करोड रुपैयाँभन्दा बढी रकम भ्रष्टाचार गरेको आरोप आरोपपत्रमा उल्लेख छ ।
काठमाडौँ, टंगालस्थित अख्तियारको केन्द्रीय कार्यालय पुगेर सापकोटाबाट पीडित स्वास्थ्य व्यवसायीहरुले उजुरी दर्ता गराएका हुन् । सापकोटाले विकास सर्जिकलबाट लिक्विड वास्टमा ४ करोड रुपैयाँ दुरुपयोग गरेको आरोप छ ।
यस्तै, हेमोडायलासिस मेसिन खरिदमा ३ करोड, सञ्जीवनी सप्लायर्ससँग युएसजी खरिदमा २ करोड, वेब टे«डिङ सप्लायर्सबाट वास्ट मेसिन खरिदमा २ करोड रुपैयाँ दुरुपयोग गरेको स्वास्थ्य व्यवसायीको आरोप छ ।
सापकोटाले औषधि व्यवसायी मकुन्द गौतमको विभिन्न कम्पनीबाट औषधिजन्य खरिदमा मिलेमतो गरेर ५ करोड दुरुपयोग गर्नुका साथै आयुर्वेद औषधिमा ४० लाख र छपाई, स्टेशनरी सामान खरिदमै ८० लाख रुपैयाँ दुरुपयोग गरेको व्यवसायीले अख्तियारमा गरेको उजुरीमा उल्लेख छ ।
सापकोटाले सिटी स्क्यानमा २ करोड, निजी अस्पताल स्तरउन्नतिको नाममा ३ करोड रकम दुरुपयोग गरेको बताइएको छ । यस्तै, एम्बुलेन्स तथ पिकअप गाडी खरिदमा पनि १ करोड दुरुपयोग गर्दै २५ करोड रुपैयाँ हिनामिना गरेको उजुरीमा उल्लेख छ ।
सापकोटाले पत्नी र छोराका लागि प्रदेश ३–०१–२२ च ५४९६ र ८६०७ नम्बरको गाडी प्रयोग गरेको आरोप लगाइएको छ । आपूर्ति व्यवस्थापनमा कमाएको रकमले नै रोजभिल्लामा ५ करोड रुपैयाँ बराबरको घर लिएको तथा भ्रष्टाचार बढी गरेर कमाएको रकम सनराइज र राष्ट्रिय वाणिज्य वैंकमा बचत गरेको आरोप छ ।
४५ हजार तलब खाने कर्मचारीको अकुत सम्पत्तिको छानबिन गर्न माग गर्दै हरेक काममा कमिसन मागेर हैरान पारेपछि व्यवसायी अख्तियार पुगेको एक व्यवसायीले बताए ।