०३ असार २०८३, बुधबार

राष्ट्रपतिमा रामचन्द्रलाई समर्थन गर्ने दलको संख्या ११ पुग्ने दाबी

फागुन १८, २०७९
राष्ट्रपतिमा रामचन्द्रलाई समर्थन गर्ने दलको संख्या ११ पुग्ने दाबी

राष्ट्रपति निर्वाचनमा एक ठाउँमा उभिएका ८ दलले थप तीन दलको समर्थन पाउने दाबी गरेका छन् । ८ दलनिकट राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभा सांसदको अभिमुखीकरण कार्यक्रमपछि नेताहरूले  संविधानप्रति प्रतिबद्ध उम्मेदवारको रूपमा रामचन्द्र पौडेललाई अगाडि सारिएको भन्दै ८ मात्रै होइन ११ दलले समर्थन गर्ने दाबी गरेका हुन् । 

बैठकपछि नेकपा एकीकृत समाजवादीका नेता माधवकुमार नेपालले पौडेलको पक्षमा धेरै मत खस्ने र सहजै जित्ने विश्वास आफूले गरेको बताए ।  

‘हाम्रा उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा मत खसाल्ने विश्वास दिलाएको छु । विगतमा राष्ट्रपतिबाट के–के त्रुटि भए, के–के राम्रा कुरा भए यसबाट अब बन्ने राष्ट्रपतिले गम्भीर समीक्षा गरी जिम्मेवारी बहन गर्नुहुनेछ भन्ने विश्वास लिएका छौं,’ नेपालले भने । 

बैठकपछि कांग्रेस नेता डा. प्रकाशशरण महतले ८ दलमात्रै होइन ११ दलले राष्ट्रपतिमा समर्थन गर्ने बताए । 

‘८ दलको प्रतिबद्धतामा हाम्रो वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार हुनुहुन्छ । ८ दलमात्रै होइन ११ दलको समर्थन पुग्ने स्थिति छ भनेर प्रधानमन्त्रीले भनिसक्नुभएको छ । अरू दलबाट पनि समर्थन प्राप्त हुन सक्छ,’ महतले भने, ‘अहिलेको लागि उपयुक्त पात्र पौडेल नै हो । संविधान रक्षाको लागि पनि प्रतिबद्ध हुनुहुन्छ । समर्थनको लहर वृद्धि हुने विश्वासमा छौं ।’  

लोकतन्त्र र प्रजातन्त्रका लागि निरन्तर संघर्ष र योगदान गरेको व्यक्तित्व भएकाले धेरै दलले समर्थन गरेको दाबी उनले गरे । राष्ट्रपतिका उम्मेदवार पौडेलले पनि संविधानको भावना अनुसार भूमिका खेल्ने बताएको जानकारी महतले दिए । 

‘राष्ट्रपतिका उम्मेदवार पौडेलले समर्थन गर्ने सबै दललाई धन्यवाद दिनुभएको छ,’ महतले भने, ‘म संविधानको व्यवस्थालाई अक्षरश पालना पनि गर्छु, पालना पनि गराउँछु भन्ने विश्वास उहाँले दिलाउनुभएको छ ।’ 

८ दलले आफ्ना मतदातालाई एउटै सन्देश दिन अभिमुखीकरण कार्यक्रम राखेको पनि महतले जानकारी दिए । 

कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एस, जनमत, लोसपा, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले राष्ट्रपतिमा पौडेललाई उम्मेदवार बनाएका छन् ।

यसमा नेपाल समाजवादी र अरू पार्टी पनि थपिने दाबी महलते गरे । प्रतिनिधिसभामा सहभागी अर्को पार्टीले पनि समर्थन गर्ने उनले दाबी गरे । 

राष्ट्रपतिमा कांग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङ उम्मेदवार छन् । 

salt training

कमेन्ट गर्नुहोस्