
कवि श्यामबहादुर भावुकद्वारा रचित ‘फेरि जन्मन्छन् जन्मदैनन्’ काव्यकृतिको लोकार्पण गरिएको छ।
दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको आयोजना तथा प्राध्यापक एवम् प्राज्ञ दिनेशराज पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न एक समारोहबीच कृति लोकापर्ण गरिएको हो।
ब्रह्मवेत्ताचार्य अर्जुन विरक्ति तोत्रियको जीवनकथामा आधारित उक्त लोककाव्यको लोकार्पण गर्दै प्रा. दिनेशराज पन्तले ‘लोकलयमा लेखिएका यस्ता कृतिहरू सर्वसाधारणले पनि बुझ्न सक्ने र जनमानसमा गहिरो प्रभाव छाड्न सक्ने भएकाले कवि भावुकले एउटा असल व्यक्तिको जीवनकथामा आधारित कृति लेखेर नेपाली साहित्यमा महत्वपूर्ण योगदान गरेको’ उल्लेख गरे।
उक्त कार्यक्रममा प्रमुखवक्ता प्रा.डा. रामप्रसाद ज्ञवालीले कृतिभित्रको सारतत्वलाई केस्रा केस्रा केलाएका थिए भने कृतिनायक अर्जुन विरक्ति तोत्रिय, कृतिकार श्यामबहादुर भावुक र कवि यादव भट्टराईले पनि आ–आफ्ना विचार व्यक्त गरेका थिए।
कृतिभित्रका केही लाइन कविता पाठ गर्ने कविहरूमा डिल्लीप्रसाद मुलतिहुन, श्रीराम पौडेल, विष्णुमाया पौडेल, शिवनारायण जोशी, उर्मिला कोइराला र दीपशिखा मुखिया थिए।
प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा गोरक्ष पीठाधीश श्रीनाथ योगीजीले आशीर्वचन प्रदान गरेका थिए।
भूमिकालेखक त्रय प्रा.डा दुर्गाप्रसाद अर्याल, कवि भुवनहरि सिग्देल र हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेलले पनि शुभकामना दिएका थिए।
प्रायोजकको तर्फबाट कृष्ण अधिकारी र प्रकाश गौतमले यस्तो विशिष्ट कार्यक्रममा सहभागी हुन पाएकोमा कृतज्ञता प्रकट गरेका थिए।