काठमाडौं, १० भदौ - प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो भारत भ्रमणको क्रममा आज साँझ भारतको आन्ध्र प्रदेशबाट विहार राज्य पुगेका छन् ।

प्रधानमन्त्री देउवा हिजो हैदरावादमा बसेका थिए भने आज बिहान हैदरावादबाट आन्ध्र प्रदेशस्थित प्रसिद्ध हिन्दु देवस्थल तिरुपति बालाजीको दर्शन एवम् पुजाअर्चनाका लागि प्रधानमन्त्री आन्ध्र प्रदेश गएका थिए | उनलाई आन्ध्र प्रदेशका आवास मन्त्री के श्रीनिवासनले तिरुपति विमानस्थलमा स्वागत गरेका थिए । प्रधानमन्त्रीकी धर्मपत्नी डा आरजु राणा देउवा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देव, सांसदहरु एवम् भ्रमण दलका सदस्यहरु प्रधानमन्त्री देउवाको साथमा थिए ।
प्रधानमन्त्री देउवाले तिरुपति बालाजी मन्दिरमा विशेष पूजा अर्चना गरे। त्यसपछि आजै साँझ प्रधानमन्त्री देउवा विहार पुगेका हुन् ।
विहारमा उनलाई विहारस्थित गया विमानस्थलमा विहारका शिक्षामन्त्री कृष्णनन्दन बर्माले स्वागत गरेका थिए । विमानस्थलमा उनको विशेष स्वागतका लागि नवकन्या एवं विभिन्न वैदिक साँस्कृतिक बाद्यवादक समूहको उपस्थिति थियो ।
प्रधानमन्त्री देउवासँग विहारका मुख्य मन्त्री नितिशकुमारले आज साँझ शिष्टाचार भेट गरेका छन् ।