
सन्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार तथा सूचना प्रविधिलाई स्वास्थ्य सेवा सुधारमा उपयोग गर्ने नीति बनाउने बताएकी छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागले राजधानीमा आयोजना गरेको पहिलो महिला स्वास्थ्य सम्मेलनमा उनले सो कुरा बताइन् ।
प्रभावकारी टेलिमेडिसिन, डिजिटल सचेतनालगायत कार्यक्रममार्फत स्वास्थ्य सेवा सुधारका लागि कार्यक्रम बनाउने उनको प्रतिवद्धता छ । संविधानमा प्रजनन स्वास्थ्यलाई उल्लेख गर्नु ठूलो उपलब्धि भएको उल्लेख गर्दै उनले अब यसको कार्यान्वयनमा सबै क्षेत्रको गम्भीर रुपमा ध्यान जानुपर्ने बताइन् ।
उनले भनिन्, ‘हामीले प्रजनन स्वास्थ्यलाई मौलिक हक त बनायौ तर यसको कार्यान्वयन कसरी गर्ने भनेर आम महिलामा लैजान सकेका छैनौं, अब यसको सचेतनता र कार्यान्वयनमा जोड दिनुपर्छ । यसमा आम सञ्चार तथा सूचना प्रविधिको व्यापक परिचालन गर्ने नीति बनाउनुपर्छ ।’
महिला हिंसा अन्त्य र महिलासँग जोडिएका कानुनी व्यवस्थाको कार्यान्वय पनि महिला स्वास्थ्यकै रुपमा अघि बढाउनुपर्ने धारणा राख्दै उनले यसका लागि सबै सरकारी निकायबीच समन्वय आवश्यक रहेको जोड दिइन् । ‘सबै मन्त्रालय र निकायले उस्तै काम गरिरहेका हुन्छन्, तर एकापसमा समन्वय नहुँदा परिणाम निकाल्न गाह्रो हुनेगरेको छ’– मन्त्री शर्माले भनिन्, ‘शिक्षा, स्वास्थ्य, सञ्चार, कानुन सबै सवाल जोडिएका हुन्छन्, यी सबैको निकायको समन्वयमा एकीकृत बार्षिक कार्यक्रम बनाउन जोड दिनुपर्छ ।’
स्वस्थ नागरिकका लागि हरेक आमा स्वस्थ हुनुपर्ने उल्लेख गर्दै मन्त्री शर्माले महिलाको स्वास्थ्यलाई स्वस्थ नागरिक र सबल राष्ट्र निर्माणको आधार बनाउनुपर्ने बताइन् । दुई दिनसम्म चल्ने सम्मेलनमा बिज्ञहरुका कार्यपत्रमा छलफल हुने र यसबाट महिला स्वास्थ्यसम्बधी नीति निर्माण गर्न सहयोग पुग्ने स्वास्थ्य सेवा बिभागले जनाएको छ ।