
अर्को साता हुन गइरहेको त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा केन्द्रीय क्याम्पसबाट प्रकाश बिष्टले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
झापा कचनकवलका बिष्ट हाल त्रिविको इतिहास केन्द्रीय विभाग कीर्तिपुरमा अध्ययनरत छन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति तथा कानूनका समेत विद्यार्थी रहिसकेका बिष्टले देशविदेशका विभिन्न प्रतिष्ठित जर्नलहरूमा अनुसन्धानमूलक लेख प्रकाशित गरिसकेका छन् ।
नेपाली सेनाले हरेक वर्ष प्रकाशन गर्ने युनिटी जर्नलमा प्रकाशित लेखमार्फत यस वर्ष बिष्टले प्रथम पुरस्कार समेत प्राप्त गरेका छन् ।
त्यस्तै पोल्यान्डको एजिया पेसिफिक जर्नलमा उनको ‘ह्वाई डिडन्ट नेपाल जोइन दी इन्डो–पसिफिक स्ट्राटेजी ? ए क्रिटिकल एसेसमेन्ट अफ नेपाल्स फरेन पोलिसी रेस्पोन्सेस टु आईपीएस’ शीर्षकमा लेख पनि छापिएको छ ।
त्रिभुवन विश्वविद्यालयकै अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागको विद्यार्थीका रूपमा रहँदा बिष्टले चीनको सिचुआन विश्वविद्यालयको इन्टिच्युट अफ साउथ एसियन स्टडीजमा एक्सचेन्ज स्टुडेन्टका रूपमा अध्ययन गर्ने अवसर पनि प्राप्त गरेका थिए ।
प्राज्ञिक क्षेत्रमा निष्ठापूर्वक होमिएका बिष्टले विभिन्न देशमा गएर शोधमूलक प्रस्तुति समेत दिइसकेका छन् । सन् २०१६ मा मलेसियामा अनि सन् २०१७ मा दुबईमा उनले एकेडमिक पेपर प्रस्तुत गरेका थिए ।
त्यसबाहेक प्राज्ञिक सन्दर्भमै उनी थाइल्यान्ड, सिंगापुर, इन्डोनेसिया र फिलिपिन्स समेत पुगिसकेका छन् ।
अनेरास्ववियुमा एक दशकभन्दा बढी समयदेखि संलग्न बिष्ट नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय सुरक्षा तथा वैदेशिक सम्बन्ध अध्ययन केन्द्रमा समेत आबद्ध छन् ।
आफ्नो संगठन मजबूत रहेको र कुनै आन्तरिक विवाद नरेहकाले राम्रो मत ल्याएर विजयी हुने बिष्टको दाबी छ ।
‘हाम्रो संगठन बलियो छ भने प्रतिद्वन्द्वीहरू विभिन्न संगठनमा आबद्ध भएकाले उनीहरूमा एकता छैन,’ बिष्ट भन्छन्, ‘त्यसमाथि शैक्षिक योग्यता तथा विद्यार्थी नेतृत्व दुवैमा खारिएका साथीहरू प्यानलमा रहनुभएकाले हाम्रो जीत सुनिश्चित छ ।’
अनेरास्ववियुको प्यानलमा प्रत्यक्षतर्फ अध्यक्षमा प्रकाश बिष्ट, सचिवमा सिद्दान्त भट्ट र कोषाध्यक्षमा जनकराज कार्की उम्मेदवार छन् ।
त्यस्तै सदस्यहरूमा सन्चमाया सुब्बा, रचना अधिकारी, दिनेश कुमार सिंह, पुरन खरेल, चेतनारायण गिरी, शिखर राई, सिकेन्द्र रोकाया, हिक्मत बुढा छन् ।
समानुपातिकतर्फका उम्मेदवार अर्जुन रेग्मी, सुदर्शन गौतम, राम सिंह नायक, विष्णु बस्याल, सुरेन्द्र शाही, प्रज्जवल खत्री क्षेत्री, कल्पना खतिवडा, सागर पाण्डे, विकास पटेल, बालकृष्ण ओली, टंक प्रसाद कंडेल, श्रीष्टी भट्टराई, सफल चापागाँई, दिपक सिंह ठकुरी, विवेक जिसी र संगम थापा मगर छन् ।
स्ववियु अध्यक्षमा उठेका प्रकाश बिष्टको प्रतिद्वन्द्वीका रूपमा नेविसंघका श्यामराज ओझा रहेका छन् ।