२१ असार २०८३, आइतबार

खेलाडीलाई हौसला प्रदान गर्न प्रधानमन्त्री प्रचण्ड कीर्तिपुर मैदानमा

खेलाडीलाई हौसला प्रदान गर्न प्रधानमन्त्री प्रचण्ड कीर्तिपुर मैदानमा

नेपाली क्रिकेट खेलाडीलाई हौसला प्रदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान पुगेका छन् ।

आईसीसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम खेलमा खेलाडीहरूलाई हौसला प्रदान गर्न प्रधानमन्त्री प्रचण्ड कीर्तिपुर पुगेका हुन् ।

लिगको अन्तिम खेल बिहीवार नेपाल र युनाइटेड अरब इमिरेट्सबीच भइरहेको छ । उनले नेपाली खेलाडीलाई विजयको शुभकामना समेत दिएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

कीर्तिपुर मैदानमा बिहीवारको खेल हेर्न ठूलो संख्यामा नेपाली दर्शक पुगेका छन् । अनुहारमा नेपाली झण्डाको रंग पोतेका र नेपाली झण्डा बोकेका दर्शकले नेपाली खेलाडीलाई हौसला प्रदान गरिरहेका छन् । 

प्रधानमन्त्री प्रचण्ड, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ लगायतको उपस्थिति कीर्तिपुर मैदानमा रहेको छ ।

पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि नेपाली खेलाडीलाई जितको शुभकामना दिएका छन् । ‘हामी आशावादी छौं, हाम्रो टीम उच्च मनोबलका साथ खेल्नेछ र नेपालको क्रिकेट इतिहासमा सफलताको नयाँ इतिहास रच्नेछ । विजयीको शुभकामना टीम नेपाल,’ उनले भनेका छन् ।

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि शुभकामना दिए । सामाजिक सञ्जाल ट्वीटरमा उनले भनेका छन्, ‘मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो । उच्च आत्मबबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि नेपाली क्रिकेट टीमलाई शुभकामना । राष्ट्र तपाईंहरूको साथमा छ । म तपाईंहरुको साथमा छु ।’

कमेन्ट गर्नुहोस्