
महोत्तरीको गौशालामा कृषि उपज बिक्री केन्द्र स्थापना हुने भएको छ ।
‘न समयमा बीउ, मल पाइन्छ, न सिँचाइको भरपर्दो उपाय, तैपनि जेनतेन बाली उब्जाउँदैछौं,’ गौशाला–४ का ६० वर्षीय चन्द्रमान तामाङले भने, ‘यसरी उब्जाइएको वस्तुले पनि राम्रो बजार कहिल्यै पाएका थिएनौं, बल्ल कृषि उपज बिक्री केन्द्र बन्ने भएछ ।’
केन्द्र बनिसकेपछि आफ्नो उत्पादन बेच्न र भण्डारण गर्न सहज हुने जनाइएको छ ।
जिल्लामै फलफूल (आँप, लिची) र तरकारी उत्पादनको ‘पकेट क्षेत्र’ मानिएको गौशाला नगर क्षेत्रमा उपज भण्डारण र संकलन तथा बिक्री केन्द्र नहुँदा किसानलाई समस्या हुँदै आएको थियो ।
किसानले व्यहोरिरहेका समस्यालाई मध्यनजर गरेर नै गौशाला–५ बजार छेउमै मडहा नदीको किनारमा केन्द्र निर्माण गरिन लागेको गौशालाका नगर प्रमुख डा. दीपेन्द्र महतोले जानकारी दिए ।
‘सरकारबाट केन्द्र निर्माणका लागि रकम प्राप्त भएको छ, हामीले ठाउँ छनोट गरिसकेका छौं, निर्माणको ठेक्का बन्दोबस्त पनि लागिसकेको छ,’ उनले भने, ‘अबका १८ महिनाभित्र अत्याधुनिक कृषि उपज सेन्टर निर्माण सम्पन्न भइसक्नेछ ।’
केन्द्र निर्माणका लागि सरकारले ७ करोड ८१ लाख ३४ हजार ३७६ रुपैयाँको ठेक्का बन्दोबस्त गरिसकेको उनले स्पष्ट पारे ।
केन्द्र निर्माणका लागि काठमाडौंस्थित सान्दोर्जे निर्माण सेवाले कार्यादेश पाएको छ । कृषि उपजको व्यापार गर्नेलाई समेत केन्द्र निर्माणले सहज बनाउने नगर प्रमुख डा. महतोको भनाइ छ ।
नगरका विभिन्न १२ वडा क्षेत्रका करीब ५० भन्दा बढी बस्ती विभिन्न मौसमी–बेमौसमी तरकारी उत्पादनका लागि उम्दा मानिन्छन् । त्यसैगरी आँप र लिची सहितका फलफूलको पनि गौशाला नगर क्षेत्र पकेट क्षेत्र रहँदै आएको छ । केन्द्र निर्माणले तरकारी र फलफूल किसान बढी लाभान्वित हुने कृषि ज्ञान केन्द्र महोत्तरी जलेश्वरका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत डा. रामचन्द्र यादव बताउँछन् ।