२७ जेठ २०८३, बुधबार

आजदेखि प्रधानमन्त्री थ्री नेसन्स कप फूटबल हुँदै

आजदेखि प्रधानमन्त्री थ्री नेसन्स कप फूटबल हुँदै
प्रतिकात्मक तस्वीर

प्रधानमन्त्री थ्री नेसन्स कप फूटबल प्रतियोगिता आजदेखि शुरू हुँदैछ ।

राष्ट्रिय फूटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय फूटबल टोलीको घोषणा गरेका छन् ।

प्रतियोगिताका लागि २३ सदस्यीय नेपाली खेलाडीको नाम सार्वजनिक गरिएको अखिल नेपाल फूटबल संघ (एन्फा)ले जनाएको छ । उनले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फूटबल प्रतियोगिताको आधारमा खेलाडी छनोट गरेका हुन् ।

प्रमुख प्रशिक्षक एनेसले प्रतियोगिता खेल्न नेपाली टोली तयारी अवस्थामा रहेको बताए । उनको प्रशिक्षणमा नेपालले पहिलोपटक खेल्न लागेको हो । प्रशिक्षक एनेसले छोटो समयमा नै नेपाली टीम तयार गरेको भन्दै चुनौतीका साथ आफ्नो टोली खेल्न तयार रहेको बताए ।

नेपाली फूटबल टोलीका कप्तान किरण चेम्जोङले प्रतियोगिताका लागि छोटो तयारी भए पनि लाओसविरुद्ध खेल्न आफ्नो टोली तयार रहेको बताए । उनले राष्ट्रका लागि राम्रो नतिजा ल्याउने उद्देश्यका साथ मैदानमा उत्रिने समेत बताए ।

छनोट हुने नेपाली टोलीको गोलकिपरमा कप्तान चेम्जोङसहित दीप कार्की र अभिषेक बराल छन् भने डिफेन्डरमा सनिश श्रेष्ठ, विकास खवास, अनन्त तामाङ, पदम भट्टराई, आदित्य चौधरी र निशान खड्का छन् । 

मिडफिल्डरमा पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, रोहित चन्द, कमल थापा, मणिकुमार लामा र भरत खवास छन् भने फरवार्डमा आयुष घलान, नवयुग श्रेष्ठ, दीपकसिंह ठकुरी, अन्जन विष्ट, आशिष चौधरी, सुमित श्रेष्ठ र मनिष डाँगी रहेका छन् । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतियोगिता चैत ८ देखि १७ गतेसम्म हुँदैछ । प्रतियोगितामा नेपाल, भूटान र लाओसले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर प्राप्त गर्दा दोस्रो हुने टोलीले ३ हजार अमेरिकी डलर पाउने छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५०० अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २५० डलर पाउने छन् ।

प्रतियोगिताको बुधवार हुने उद्घाटन खेलमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको खेल हेर्न चाहने दर्शकका लागि सामान्य प्यारापिटतर्फ ५०० र भीभीआइपीतर्फ १ हजार तोकिएको एन्फाले जनाएको छ । टिकट खल्ती एपबाट किन्न सकिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्