
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले लैनचौर-बालाजु-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको सडक पहिला मर्मत गर्न निर्देशन दिएका छन्।
काठमाडौँ उपत्यकाभित्रका सडकहरू गुणस्तरीय हुनुपर्नेमा जोड दिँदै उनले विशेष योजना बनाएर सडकहरूको स्तरोन्नति गर्न निर्देशन दिएका हुन्।
सडकसँग सम्बन्धित निकायहरूको उच्चस्तरीय समन्वयात्मक बैठकमा मन्त्री श्रेष्ठले भने, 'विशेषत लैनचौरदेखि बालाजुसम्म र केशरहमहल हुँदै एपोर्टसम्मको सडक स्तरोन्नतिका लागि तत्काल ठोस योजना बनाउनुपर्यो ।'
उनले काठमाडौँ उपत्यकाका सडकको अवस्थाबारे जानकारी लिँदै समस्या देखिएका ठाउँमा प्रभावकारी योजना बनाउन निर्देशन दिएका हुन्।
उनले भने, 'जनताले कर तिरेका छन् । तर सरकारले राम्रो सडकसमेत उपलब्ध गराउन सकेको छैन । सडकका कारण जनताले सधैँ दुःख पाउने स्थितिबाट हामीमाथि उठ्नुपर्छ ।' सम्बन्धित निकायबीचको समन्वय गरेर गरेर गुणस्तरीय सडक बन्नुपर्नेमा उनको जोड थियो ।
नयाँ सडकमा अनिवार्यरूपमा नयाँ ढङ्गले जानेगरी सम्झदारी गर्नुपर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले भने, 'नयाँ बनेका सडकमा अनिर्वायरूपमा एकैपटक एउटा मोडालिटी विकास गरेर काम गर्नपर्छ, सम्बन्धित निकायबीच सम्झादारी गर्नुहोस् ।'
उनले बनिसकेका ठाउँमा यथावत् समस्या तत्काल हल गर्न प्रभावकारी योजना बनाउनपर्ने बताए । सडक मर्मत सम्भार, विस्तार र निर्माणमा सधैँजसो दोहोरिने समस्या हल गर्न ‘युटीलिटी करिडोर’ को अवधारणाबारे मन्त्रालय र प्रधानमन्त्रीसँग समेत छलफल भएको मन्त्री श्रेष्ठले जानकारी दिए।
उनले सडक निर्माणको जिम्मेवारी पाएकालाई आवश्यकताअनुसार सहयोग गर्न र समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारबाही अघि बढाउनसमेत निर्देशन दिए। बैठकमा सडकसँग सम्बन्धित विभिन्न ८ निकायका प्रतिनिधिको सहभागिता थियो ।
बैठकमा सडक विभागअन्तर्गतका राष्ट्रिय राजमार्ग एवं सहरी तथा सहायक राजमार्ग सडक, नेपाल विद्युत् प्राधिकरणले स्वीकृति पाएको १५ वटा सडक र आयोजना कार्यान्वयन निर्देशनालयले स्वीकृति पाएको १८ वटा सडकको अवस्थाबारे छलफल गरिएको थियो ।
सो अवसरमा मन्त्रालयका सचिव केशवकुमार शर्माले सडकको दुरावस्थाले सर्वसाधारणलाई सास्ती पुर्याएको बताउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराए।