
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
चैत ६ गते विश्वासको मत लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार विस्तारका लागि निर्णायक छलफलमा जुटेका छन् । त्यसका लागि उनले गठबन्धनमा आबद्ध दलहरुसँग अनौपचारिक छलफल गरिरहेका छन् । आजभोलि नै संयुक्त बैठक बसेर मन्त्रीहरुको भागबण्डाको टुंगो लगाउने प्रचण्डको तयारी छ ।
आफूलाई समर्थन गर्ने दललाई सरकारमा हिस्सा दिने तयारीमा रहेका प्रचण्डले मन्त्रालयको संख्यामा करीब–करीब भागबन्डा टुंगो लगाएका छन् । तर, कुन दललाई कुन मन्त्रालय दिने भन्ने टुंग्याउन बाँकी रहेको छ ।
प्रधानमन्त्रीले मन्त्रालयको संख्यामा मोटामोटी खाका बनाएर दलहरूसँग प्रस्ताव गर्ने र मन्त्रालयको जिम्मा दिनेबारे परामर्श गरिरहेको माओवादीका नेता देवेन्द्र पौडेलले जानकारी दिए ।
यसैबीच नेपाली कांग्रेसले मंगलबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । सो बैठकले मन्त्री छान्नुका साथै उपनिर्वाचनमा उम्मेदवारीलगायतका विषयमा आवश्यक निर्णय लिने बताइएको छ ।
००००
लुम्बिनीमा लीला गिरी नेतृत्वको सरकारमा सहभागी राजनीतिक दलहरूले सरकारबाट हटेर नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका छन्।
सरकारमा सहभागी ६ राजनीतिक दलले राजीनामा बुझाएर प्रदेश प्रमुख अमिक शेरचन समक्ष ५३ सांसदको हस्ताक्षरसहित नयाँ सरकारको लागि निवेदन पेश गरेका हुन् ।
००००
नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरलाई आइतबार दज्र्यानी चिह्न प्रदान गरिएको छ। गृह मन्त्रालयमा आयोजित एक समारोहका बीच कुँवरलाई दज्र्यानी चिह्न प्रदान गरिएको हो । लगत्तै उनले प्रहरी प्रधान कार्यालयमा पुगेर पदभार गरेका थिए ।
००००
नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरलाई प्रधानसेनापति प्रभुराम शर्माले बधाई दिएका छन् । जंगीअड्डा पुगेका कुँवरलाई शर्माले बधाई दिएका हुन् ।
००००
तीन वर्षअघि मात्र ३४ करोड खर्च गरेर बनाइएको कलंकी–बल्खु सडकको सर्भिस लेन डोजर लगाएर भत्काइएको छ । पूरै सडक भत्काएर झण्डै १४ करोडमा नयाँ पिच गर्न लागिएको हो । यसो गर्दा ३ वर्षअघि खर्चिएको रकम बालुवामा पानीसरह भएको छ ।
कलंकीदेखि बल्खुतर्फ आउँदा देव्रेतर्फको सर्भिस लेनको १.७ किलोमिटर खण्ड चक्रपथ सुधार आयोजनाले ३४ करोड १७ लाख ७० हजार रुपैयाँ खर्चेर निर्माण गरेको थियो । तर, तीन वर्षमै उक्त सडकको ुबेस स्ट्रक्चर फेलियरु भएको तथा आवधिक मर्मत गर्नुपर्ने कारण देखाएर १३ करोड ८२ लाख रुपैयाँमा नयाँ ठेक्का लगाई काम समेत शुरू भइसकेको छ ।
००००
सरकारले भुक्तानी सन्तुलन मिलाउन नसक्दा सार्वजनिक ऋणको भारी बढ्दै गएको छ । यस्तो ऋण पछिल्लो ५ वर्ष वर्षमा दोब्बर बनेको छ ।
सरकारको सार्वजनिक ऋण चालू आर्थिक वर्ष २०७९–०८० को फागुनसम्ममा २० खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ । यस्तो ऋण पछिल्लो ५ वर्षको तुलनामा १२६ प्रतिशतले बढेको देखिएको छ ।
००००
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतहरुलाई ७ दिनभित्र हाजिर गराउन मन्त्रालयले निर्देशन दिएको छ ।
खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई फर्काउन थालेपछि ७ दिनभित्र हाजिर गराउन मन्त्री अमनलाल मोदीले शुक्रबार मन्त्रीस्तरीय निर्णय गरेका हुन् ।
००००
प्रतिनिधि सभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पारित भएको छ ।
आइतवार बसेको प्रतिनिधि सभाको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको हो ।
००००
नेपाली कांग्रेसका नेता तथा सांसद डा शेखर कोइरालाले राष्ट्र सिकिस्त बिरामी भएको बताएका छन्। प्रतिनिधिसभाको विशेष समयमा उनले व्यापार घटेको र बेरोजगारी बढ्दै गइरहेको प्रति चिन्ता व्यक्त गरे।
विशेष समयको शुरूमै बोलेका कोइरालाले काम गर्ने उमेरका एक तिहाइ केही आर्थिक उपार्जन नगरी बस्ने भन्दै यो अवस्था भयावह भएको बताए।
००००
जसपा राष्ट्रिय परिषद् अध्यक्ष अशोक राईले विराटनगरमा पहिचानवादीको संघर्षपूर्ण आन्दोलनमा पदम लिम्बूको मृत्यु भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
संघीय संसद्को बैठकमा नेता राईले भने, ‘यो अत्यन्तै दुःखद् र गम्भीर घटना हुन गएको छ। सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। लिम्बूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण र समवेदना दिन चाहन्छु।’
००००
कोरोना भाइरसको सङ्क्रमण आइतबार पनि बढेको छ । यसअघि चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण आइतबार फेरि १६ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार नौ सय २१ जनामा गरिएको परीक्षणमा १६ जनामा सङ्क्रमण देखिएको छ । चैत १० गते एक हजार पाँच सय १४ जनामा गरिएको परीक्षणमा दुई र चैत ११ गते एक हजार दुई सय ७२ जनामा गरिएको परीक्षणमा तीनजनामा सङ्क्रमण देखिएको थियो ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन् ।
नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीले सन्धिखर्कमा गरेको मिसन ग्रासरुट अभियानअन्तर्गत कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे देखियो भने त्यो एमाले होइन भनेर जाने हुन्छ, एमाले नेता तथा कार्यकर्ता बोलीवचनबाट छुट्टिनुपर्छ ।’
००००
साफ यू–१७ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपाल रसियासँग पराजित भएको छ ।
बङ्गलादेशको ढाकास्थित बिएसएसएस मोस्ताफा कमल स्टेडियममा आइतबार भएको खेलमा रसियाले नेपाललाई ३–० गोल अन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफमा रसियासँग गोलरहित बराबरीमा खेलेको नेपालले दोस्रो हाफमा तीन गोल खायो ।
००००
नेपाली सेना र अमेरिकी सेनाबीच द्विपक्षीय सैन्य छलफल हुने भएको छ । छलफल सोमवारदेखि बुधवारसम्म काठमाडौंमा हुने नेपाली सेनाले जनाएको छ ।
‘बाइल्याटरल ल्यान्ड फोर्सेस’ नामक यस छलफल अघिल्लो वर्ष अमेरिकाको हवाईमा भएको थियो ।
००००
एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल झारेको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर इन्डियालाई पत्राचार गरेको छ ।
गत शुक्रबार नयाँ दिल्लीबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि बिनाअनुमति १९ हजार फिटमाथि उडान भरिरहेको एयर इन्डियाको जहाज अचानक १५ हजार फिटमा झरेको थियो ।
००००
राष्ट्रपति रामचन्द्र पौडेलले गोरखा पुगेर मन्दिरमा दर्जन र दरबारको अवलोकन गरेका छन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत राष्ट्रपति पौडेल आइतबार बिहान गोरखा पुगेका हुन् । यस्तै उपराष्ट्रपति सोही दिन गृहजिल्ला बारा पुगेका छन् ।