३० असार २०८३, मंगलबार

तिलौराकोटलाई विश्वसम्पदा सूचीमा दर्ताका लागि विज्ञसँग छलफल

तिलौराकोटलाई विश्वसम्पदा सूचीमा दर्ताका लागि विज्ञसँग छलफल

प्राचीन राजधानी कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा मनोनयनका लागि दस्तावेज तयार पार्ने कार्यलाई तीव्रता दिइएको छ ।

यूनेस्कोको सहयोगमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्त्व विभाग र लुम्बिनी विकास कोषले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको कार्यशाला गरी विश्वसम्पदा सूचीमा सूचीकृत गर्नका लागि दस्तावेज तयार पार्ने कामलाई तीव्रता दिएको हो । शनिबार र आइतवार अन्तर्राष्ट्रिय विज्ञ डा. डंकन मार्सल (अस्ट्रेलिया), प्रा.डा. रविन कनिङ्हम (बेलायत), प्रा. डा. युकियो निसिमुरा (जापान)सहित नेपालका तर्फबाट विज्ञहरू काई वाइजे, प्रा.डा. राजेश राई, डा. इनु प्रधान, सृष्टिना श्रेष्ठ, राजेन्द्र सुवाल, यनी जोशिको उपस्थितिमा मनोनयन दस्तावेजका लागि विधागत विषयमा गहन छलफल गरिएको छ । मनोनयन दस्तावेजमा पुरातत्त्व विभागका पूर्व महानिर्देशक कोषप्रसाद आचार्य र पुरातात्वविद् वसन्त विडारीले विज्ञहरूले निकालेका निष्कर्षमा सुझाव दिएका थिए ।

लुम्बिनी विकास कोषका वरिष्ठ प्रशासकीय अधिकृत ज्ञानिन राईको संयोजकत्वमा विश्वसम्पदा सूचीमा सूचीकृतका लागि मनोनयन दस्तावेजलाई अन्तिम रूप दिन विज्ञहरूसँग छलफल अगाडि बढाइएको छ ।

आइतवार विज्ञहरूको कार्यशालामा सरोकारवाला सरकारी निकायका प्रतिनिधि र सरोकारवालाहरूसँग पनि छलफल गरिएको छ । 

छलफलमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेशकुमार त्रिपाठी) ले तिलौराकोटलाई विश्वसम्पदा सूचीमा जतिसक्दो चाँडो सूचीकृत गराउने गरी मनोनयन दस्तावेजलाई अन्तिम रूप दिन विज्ञहरूलाई आग्रह गरे । 

उनले तिलौराकोट विश्वसम्पदा सूचीमा सूचीकृत हुँदा कपिलवस्तुको ऐतिहासिक र पुरातात्त्विक महत्त्व विश्वले चिन्ने बताए । 

हालसम्म गरिएका अध्ययन, अन्वेषण, बौद्धकालीन अवस्था उल्लेख गरेका तीर्थयात्रीहरूको भ्रमणजस्ता आधारले तिलौराकोट विश्व सम्पदा सूचीका लागि योग्य भइसकेको उपाध्यक्ष मैत्तयको भनाइ छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेले तिलौराकोटलाई विश्व सम्पदाका रूपमा चिनाउन आवश्यक रहेकाले विज्ञहरूलाई जतिसक्दो चाँडो प्रक्रिया अगाडि बढाउन आग्रह गरे । 

उनले कपिलवस्तु बुद्धको वंश रहेको र बुद्ध स्वयंले २९ वर्ष बिताएको ठाउँ रहेकाले तुरुन्त सम्पदा सूचीमा सूचीकृत गर्नुपर्नेमा जोड दिए ।

पुरातात्त्व विभागका महानिर्देशक दामोदर गौतमले विज्ञहरूबाट मनोनयनका लागि महत्त्वपूर्ण सुझावहरू आएको बताउँदै सीमा क्षेत्रका बारेमा प्रदेश सरकार, स्थानीय सरकार एवं स्थानीयहरूको समेत सहयोग आवश्यक हुने बताए ।

यस्तै संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सहसचिव डा. सुरेश श्रेष्ठले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका आवश्यक प्रमाणहरू जुटाउने काम भइरहेको बताए । 

उनले सन् १९९६ सालमै तिलौराकोट सम्भाव्य विश्वसम्पदा सूचीमा रहेकाले सन् २०२४ सम्ममा सूचीकृत गर्ने र त्यसका लागि सबैको सहयोग आवश्यक पर्ने बताए ।

कार्यक्रममा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले विश्व सम्पदामा सूचीकृत गर्नका लागि कोषका तर्फबाट विदेशी विज्ञ मनोनित गरिसकेको बताउँदै स्थानीय रूपमा वातावरण अनुकूल बनाउने काममा स्थानीय सरकारको सहयोग हुनुपर्ने बताए । 

कार्यशालमा तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचिकृत गर्नका लागि कार्यतालिका, विषयसूची, तिलौराकोटको विशेषता र अद्वितिय अनुपम विश्वव्यापी महत्त्वका बारेमा छलफल गरिएको कोषका वरिष्ठ प्रशासकीय अधिकृत ज्ञानिन राईले जानकारी दिए ।

छलफलमा लुम्बिनी प्रदेश प्रदेश प्रमुख कार्यालयका सचिव प्रल्हाद पोखरेल, यूनेस्को जापान फन्ड इन ट्रष्टका कन्सल्ट्यान्ट नभा थापा बस्नेत, कपिलवस्तु नगरपालिकाका नगर उपप्रमुख सुनिता गुप्ता, पूर्व वडाअध्यक्ष प्रकाश गैरे लगायतले बोल्दै तिलौराकोटलाई विश्व सम्पदाका रूपमा स्थापित गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । 

छलफलमा कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), योजना प्रमुख सरोज भट्टराई, पुरातत्त्व प्रमुख हिमाल उप्रेती, सूचना अधिकृत राजन भट्टराई, कपिलवस्तु शाखा प्रमुख माधवप्रसाद आचार्य लगायतको उपस्थिति रहेको थियो ।  यूनेस्कोले सन् १९९६ मै ऐतिहासिक पुरातात्विक स्थल तिलौराकोटलाई सम्भावित विश्वसम्पदा सूचीमा राखेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्