३१ असार २०८३, बुधबार

स्ववियु चुनावको परिणाम रद्द गर्न कांग्रेसको माग

स्ववियु चुनावको परिणाम रद्द गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले चितवनस्थित रामपुर कृषि क्याम्पसमा क्याम्पस प्रमख र निर्वाचन समितिले नेविसंघविना नै स्ववियुको चुनाव गराएर धाँधली गरेको आरोप लगाएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउनुको सट्टा मिलोमतो गरेर नेविसंघलाई निर्वाचनमा भाग लिनै नदिई परिणाम सार्वजनिक गरिएको भन्दै आपत्ति जनाएका हुन् । अवैधानिक  निर्वाचन रद्द गर्न गर्नुपर्ने माग पनि कांग्रेसकाे छ । 

‘२०७९ चैत्र १७ गतेका दिन रामपुर कृषि क्याम्पस, खैरहनी, चितवनमा क्याम्पस प्रमुख र निर्वाचन समितिका संयोजकले अमुख विद्यार्थी संगठनको पक्षपोषण हुने गरी क्याम्पसमा क्रियाशील अन्य विद्यार्थी संगठनसँगको कुनै समन्वय विना मतदानको सूचना प्रकाशित गरी निर्वाचन गराएको विषयप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा उल्लेख छ, ‘स्वतन्त्र, धाँधलीरहित र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउनु क्याम्पस प्रशासन र निर्वाचन अधिकृतको प्रमुख जिम्मेवारी हो । नेपाल विद्यार्थी संघको उपस्थिति विना क्याम्पस प्रशासन र निर्वाचन अधिकृतको मिलोमतोमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त गठबन्धनले बुथ कब्जा गर्दै एकलौटी मतदान गरी निर्वाचनको नतिजा घोषणा गरिनु अत्यन्त खेदजनक छ ।’

उक्त अवैधानिक कार्यको विरोध गर्दा, क्याम्पस प्रशासनको ठाडो आदेशमा प्रहरीले निर्मम तवरले पिट्दा, नेपाल विद्यार्थी संघका तर्फबाट स्ववियु सभापतिका उम्मेदवार रहेका भएका आशिष देवकोटा र निवर्तमान ईकाई अध्यक्ष सुरज यादव गम्भीर घाइते भएको कांग्रेसले जनाएको छ । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ  विज्ञप्तिमा उल्लेख छ । 

उक्त घटनाको यथार्थ छानविन गरी अवैधानिक रुपमा गरिएको निर्वाचन रद्द गर्न कांग्रेसले सम्बद्ध पक्षसँग माग गरेको छ । साथै, घाइते विद्यार्थीहरुको उचित उपचारको प्रबन्ध गर्न पनि माग गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्