
मिटरब्याजीहरूको समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्ने सरकारको निर्णयको नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले विरोध गरेका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा उनले मिटरब्याजपीडित नागरिकलाई अल्मल्याउने र पीडकलाई उन्मुक्ति दिने गरी सरकारले सो आयोग बनाउने निर्णय लिएको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे।
सांसद गैरेले मिटरब्याज पीडितहरूलाई अलमल्याउने गरी सो उच्चस्तरीय आयोग गठन गर्ने निर्णय तत्काल सच्याउन र पीडकहरूलाई कारवाही गर्न पनि सरकारसँग माग गरे।
उनले भने, ‘यो मिटरब्याजीबाट पीडित भएका नागरिकहरूमाथि फेरि अर्को धोखाधडी भएको छ । एउटा आयोगको प्रतिवेदन थन्क्याएर फेरि अर्को आयोग गठन गरेर यो विषयलाई लम्ब्याउने, अल्मल्याउने र पीडकहरूलाई उन्मुक्ति दिनेतर्फ जुन काम भएको छ । यो करेक्सन हुनुपर्छ । र, तत्काल पीडकहरूले कारबाही पाउनुपर्छ भन्ने कुरालाई म सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । यो शून्य समय र विशेष समयमा उठेका कुराहरूको सरकारका मन्त्रीले, प्रधानमन्त्रीले जवाफै दिन नपर्ने ? के यो नियमअनुसार नै हामी चलिराखेका छौं ?’
त्यस अवसरमा सांसद गैरेले प्रतिनिधिसभा बैठकको शून्य र विशेष समयमा सांसदहरूले उठाएका विषयहरूको प्रधानमन्त्री र सम्बन्धित मन्त्रीहरूले जवाफ दिने अनिवार्य व्यवस्था गर्न पनि सभामुख घिमिरेको ध्यानाकर्षण गराए।