
कांग्रेस महामन्त्री गगन थापाले घुम्दै आएका टुरिस्ट उममेदवारका लागि तनहुँ निर्वाचन क्षेत्र नहुने बताएका छन्।
आफ्नो पार्टीको उम्मेदवारलाई जिताउन तनहुँ पुगेका थापाले टुरिस्ट उम्मेदवारको विकल्पमा आफ्नो पार्टीका गोविन्द भट्टराईलाई जिताउन आग्रह गरे।
‘तनहुँबाट पानी खाएको र यही माटोमा संघर्ष गरेको गोविन्द भट्टराई उम्मेदवार हुनुहुन्छ । यसैले संसद बनाएर उहाँलाई जिम्मेवारी दिएर पठाउन तयार हुनुपर्छ’ थापाले भने, ‘घुम्दै आएका टुरिस्ट उम्मेदवारलाई भन्नुपर्छ तनहुँको निर्वाचन क्षेत्र अन्यजस्तो होइन । जसले आयो त्यसले बजाउँदै हिँड्ने होइन ।’
राष्ट्रपतिमा रामचन्द्र पौडेललाई जिताएको क्षेत्र भएकाले उनलाई धन्यवाद दिन पनि गोविन्दलाई जिताउन अपिल गरे ।
परेको बेलामा दाइबाट अवसर खाने, भाउजू पनि ठीक हुने तर सांसद र मन्त्री बन्न नपाउँदा सबै गलत भन्दै हिँडेकोमा रास्वापका उम्मेदवार स्वर्णिम वाग्लेप्रति कटाक्ष पनि गरे ।
वर्षौँ विदेशमा बसेर आउनले नेपालमा बस्नेलाई अपमानपूर्वक बोल्ने सुविधा नभएको चेतावनी पनि थापाले दिए ।
‘यहाँ बसेकोलाई प्रश्न गर्यौं भने तिमी किन विदेश गयौ भनेर म पनि प्रश्न उठाउँछु’, थापाले भने, ‘हामी यहाँ कांग्रेस बदल्न लागेका हौं । हामीमाथि अन्यायपूर्वक बोल्ने छुट कसैलाई छैन ।’