
काठमाडौं, १४ भदौ - निर्वाचन क्षेत्र निर्धारण आयोगले आज सरकारलाइ आयोगको प्रतिवेदन बुझाउने भएको छ । आयोगले साँझ ५ बजे प्रधानमन्त्री शेरबहादुर देउवालाई आयोगको प्रतिवेदन बुझाउँदै छ ।
आयोगले प्रतिनिधि सभाका लागि एक सय ६५ र प्रदेश सभाको लागि त्यसको दोब्बर संख्यामा निर्वाचन क्षेत्र तोकेर सरकारलाई प्रतिवेदन बुझाउँदै छ । एउटा प्रतिनिधिसभाको क्षेत्र बराबर दुई वटा प्रदेश सभाको लागि क्षेत्र निर्धारण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
आयोगले प्रतिनिधिसभाको निर्वाचनको लागि एक सय ६५ वटा निर्वाचन क्षेत्र तोकेको छ । जनसंख्याको आधारमा क्षेत्र तोक्दा तराईका जिल्लामा सबैभन्दा धेरै निर्वाचन क्षेत्र बनेका छन् । काठमाडौंमा १० वटा निर्वाचन क्षेत्र बनाइएको छ ।
लोकान्तरलाई प्राप्त जानकारी अनुसार १० वटा निर्वाचन क्षेत्र हुने जिल्ला काठमाडौं मात्रै हो । त्यस्तै ६ वटा निर्वाचन क्षेत्र हुने जिल्ला पनि एउटा मात्रै छ । पाँच क्षेत्र हुने जिल्लाको संख्या पाँच र चार क्षेत्र हुने जिल्लाको संख्या ७ रहेको छ ।
हेरौं कुन जिल्लामा कतिवटा निर्वाचन क्षेत्र निर्धारण भए -१० निर्वाचन क्षेत्र भएको जिल्ला- १, काठमाडौँ
६ निर्वाचन क्षेत्र भएको जिल्ला- १, मोरङ
५ निर्वाचन क्षेत्र हुने जिल्ला- ५, झापा, धनुषा, सर्लाही, रूपन्देही र कैलाली
४ निर्वाचन क्षेत्र भएका जिल्ला- ७, सुनसरी, सप्तरी, सिरहा, महोत्तरी, रौतहट, बारा र पर्सा
३ निर्वाचन क्षेत्र हुने जिल्ला- ७, कञ्चनपुर, चितवन, कास्की, बाँके, दाङ, कपिलवस्तु र ललितपुर
२ निर्वाचन क्षेत्र भएका जिल्ला- १९, इलाम, उदयपुर, स्याङ्जा, बागलुङ, सुर्खेत, भक्तपुर, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, काभ्रे, तनहुँ, गोरखा, गुल्मी, बर्दिया, दैलेख,मकवानपुर, पूर्वी नवलपरासी र पश्चिम नवलपरासी
१ निर्वाचन क्षेत्र भएका जिल्ला- ३७, पाल्पा, ताप्लेजुङ, संखुवासभा, दोलखा, रामेछाप, बझाङ, पाँचथर, भोजपुर, धनकुटा, ओखलढुंगा, खोटाङ, अर्घाखाँची, रोल्पा, प्यूठान, लमजुङ, सल्यान, जाजरकोट, अछाम, डोटी, बैतडी, पर्वत, सोलुखुम्वु, रसुवा, मनाङ, मुस्ताङ, मुगु, डोल्पा, हुम्ला, जुम्ला, कालीकोट, दार्चुला, बाजुरा, म्याग्दी, डडेल्धुरा, तेह्रथुम, पूर्वी रुकुम र पश्चिम रुकुम