२३ असार २०८३, मंगलबार

रविलाई देवी ज्ञवालीको कटाक्ष : अमेरिकाका लागि जे पनि गर्छु भन्नेले देशभक्त हुँ भन्न पाइन्छ ?

‘आमालाई लात हानेर हिँड्ने छोरो छोरो हुँदैन’
रविलाई देवी ज्ञवालीको कटाक्ष : अमेरिकाका लागि जे पनि गर्छु भन्नेले देशभक्त हुँ भन्न पाइन्छ ?

नेकपा एमालेका पोलिटब्युरो सदस्य देवी ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले देशको खाक्रो राष्ट्रवादको नारा लिएर चुनावमा उत्रिएको बताएका छन् । 

बुधवार चितवनको कालिकानगरमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उनले सुविधा प्राप्तिका लागि अमेरिका गएर ऋण लागेपछि नेपाल आएर देशभक्त भन्न नपाइने बताएका छन् । 

‘सुविधा प्राप्त गर्ने लहरमा अमेरिकाको सैनिक सेवामा निःशुल्क सेवा गर्छु, अमेरिकाका लागि परिआएमा जुनसुकै देशमा लड्छु भन्ने कागज गरेर देशलाई छाडेर अमेरिकी नागरिकता लिने राष्ट्रघाती सदनमा गएका मान्छेहरू त्यहाँ बस्न सकेनन्,’ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै ज्ञवालीले भने ।

उनले थपे, ‘मुद्दा लाग्ने स्थिति भयो । स्वदेश फर्किए र तिनीहरूले नानाथरी पाखण्डपूर्ण कुरा गर्दै हिँडेका छन् । देशको स्वार्थका लागि नागरिकता त्याग्ने अनि देशभक्त भन्ने ? देशभक्तले सुखका लागि नागरिकता त्याग्दैन, हामीले कसरी पत्याउने रवि लामिछाने देशभक्त हुन् ?’

अघिल्लो चुनावमा वृद्ध नेताहरूलाई गाली गर्दै चुनाव जितेको तर पछि तिनै नेताहरूसँग टाँसिएकाले अब उनलाई जनताले विश्वास नगर्ने उनले बताए । विगतका दिनमा ‘नो नट अगेन’ भन्ने नारा लगाएका रविलाई अब चितवनका जनताको भोटले नो नट अगेन भनेर जवाफ दिने उनको भनाइ थियो । 

आफ्नो देशलाई छाडेर गएका व्यक्तिले फेरि यो देशको सेवा गर्न आएको हुँ भनेर पत्याउन नसकिने उनले बताए । ‘आमालाई लात हानेर हिँड्ने छोरो छोरो हुँदैन, हिजो देश बिर्सनेले फेरि बिर्सन सक्दैनन् भन्न सकिँदैन,’ ज्ञवालीले भने ।  

salt training

कमेन्ट गर्नुहोस्