०१ साउन २०८३, शुक्रबार

सरसर्ती २४ घण्टा : शेखरको प्रतीक्षामा देउवा

सरसर्ती २४ घण्टा : शेखरको प्रतीक्षामा देउवा


‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सरकारले कोशी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

शुक्रवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । साथै मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । 
००००
एक महिनासम्म १६ वटा मन्त्रालय लिएपछि अघिल्लो साता १० मन्त्री चयन गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अझै ६ वटा मन्त्रालयको जिम्मेवारी छ ।
गत शुक्रवार नै सबै मन्त्रालयमा मन्त्री चयन गर्ने प्रधानमन्त्री प्रचण्डको प्रयास थियो । तर सबैभन्दा ठूलो दल कांग्रेसको किचलोका कारण पूरा भएको हुन सकेन । यसैले कांग्रेसले पाउने ८ मध्ये ४ मन्त्रालयमा मात्रै जिम्मेवारी तोकिएको थियो । 

मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी नाम टुंग्याउन कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नोतर्फबाट पहल गरिरहेका छन् । बाँकी मन्त्रालयमा कांग्रेसको संस्थापनले आफ्नो तर्फका दुई मन्त्रीको नाम टुंगो लगाएको जानकारी सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले दिए । 

‘हाम्रो तर्फबाट थप दुई मन्त्रीमा एनपी साउद र मोहन बस्नेतको नाम टुंगिसकेको छ । शेखर दाइहरूले नाम दिएपछि प्रधानमन्त्रीलाई सूची बुझाउने तयारी छ,’ भानुले भने, ‘उहाँहरूसँग कुराकानी भइरहेको छ । शायद अब लामो समय लाग्दैन ।’

संस्थापन पक्षबाट परराष्ट्रमा साउद र स्वास्थ्य वा युवा तथा खेलकुदमध्ये एकमा बस्नेतलाई मन्त्री बनाउने तयारी छ । २ नाम दिन आनाकानी गरिरहेको शेखर पक्षलाई मनाउने प्रयास भइरहेको जानकारी भानुले दिए ।
००००
काठमाडौंको तीनकुनेस्थित गैरीगाउँको सुकुमबासी बस्ती भत्काउन काठमाडौँ महानगरपालिकाको डोजर पुगेपछि स्थानीयले अवरोध गरेका छन्। शुक्रबार महानगरको डोजर त्यहाँ पुगेपछि उनीहरूले बाटो बन्द गरिदिएका हुन्।  
००००
अर्थ मन्त्रालयले बजेट मस्यौदा लेखन समिति गठन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले मन्त्रालयका सहसचिव भुपाल बरालको संयोजकत्वमा ६ सदस्यीय बजेट मस्यौदा लेखन समिति गठन गरेका हुन् ।
००००
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ सरकारले जनतालाई भरोसा दिलाउनुपर्नेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अलमलमा देखिएको टिप्पणी गरेका छन् ।
उनले पार्टीलाई बिर्सेर प्रधानमन्त्रीजस्तो बनेर काम गर्न प्रचण्डलाई सुझाव दिए । 

शुक्रवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा महामन्त्री थापाले औपचारिक कार्यक्रममा गएर समय बर्बाद नगर्न प्रधानमन्त्रीलाई सुझाव दिए ।
००००
मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको बहुमतबीच पार्टी एकता भएको छ। इच्छुक प्रतिष्ठान घट्टेकुलोमा शुक्रबार मध्याह्न एक कार्यक्रम गरी दुई नेताहरूले पार्टी एकता गरेका हुन्।  
उनीहरूले पत्रकार सम्मेलन गरी पार्टी एकताको घोषणा गरेका छन्।
००००
नेपाली कांग्रेस नेता डा शेखर कोइरालाले अवसरवादीहरूबाट जोगिन आग्रह गरेका छन्। शुक्रवार काठमाडौंमा नेपाल सार्वजनिक सेवा कर्मचारी संघको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटनमा उनले डा स्वर्णिम वाग्लेप्रति इंगित गर्दै आफू अवसरवादीबाट सावधान भइसकेको र सबै मानिस सावधान हुनुपर्ने बताए।
००००
सरकारले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन गर्न समिति गठन गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका अनुसार नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्रीको अध्यक्षमा पाँच सदस्यीय समिति गठन गरिएको हो ।
००००
स्वास्थ्य बीमा बोर्डको सेवा ७७ जिल्ला र सात सय ४८ स्थानीय तहमा विस्तार भएको छ । बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाका अनुसार सेवा विस्तारमा बिर्डले विषेश ध्यान दिएको छ ।
स्वास्थ्य बीमाबारे शुक्रबार आयोजित अन्तरक्रियामा निर्देशक बसौलाले बीमा सङ्ख्या विस्तार हुने क्रम बढ्दै गएको बताए । उनले बीमालाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नको लागि सबै तह, निकाय जिम्मेवारी हुनुपर्नेमा जोड दिए ।
००००
सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि ४४ वटा अस्पतालसँग सम्झौता गरेको छ । जसअनुसार सम्झौता भएका अस्पतालबाट सेवा लिँदा लाभग्राहीले उपचार गर्दा लागेको रकमको २० प्रतिशत मात्र बुझाए पुग्नेछ । अर्थात् ८० प्रतिशत रकम योगदानकर्ताले छुट पाउनेछन् ।
००००
काठमाडौंको नयाँ बानेश्वरमा फेरि एक जनाले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। 
शुक्रबार अपराह्नतिर ५० वर्षीय प्रेम लामा नाम गरेका एक व्यक्तिले पुरानो ट्रली बसको कार्यालयअगाडि शरीरमा पेट्रोल छर्की आगो लगाउने प्रयास गरेका प्रहरीले जनाएको छ ।
००००
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले सत्ता प्राप्तिका लागि हत्याकाण्ड मच्चाउने राजतन्त्र नचाहिने बताएका छन् । 
थारू कल्याणकारी सभा जिल्ला समिति उदयपुरको ९ औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।
००००
नक्कली बुबा खडा गरी झुट्टा कागजातका आधारमा नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गर्ने एक तिब्बती महिला पक्राउ परेकी छन् । 
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तिब्बती शरणार्थी निमा ल्हामो गुरुङलाई पक्राउ गरेको हो ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ३० वर्ष सत्तामा बसेर देशलाई कंगाल बनाउने दलले ३० दिन सत्तामा बसेको दललाई प्रश्न गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । 
शुक्रवार अपराह्न चितवनमा चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार लामिछानेले जुनसुकै कालखण्डमा भएका भ्रष्टाचारका फाइल खोल्ने आफ्नो पार्टीको नीति यथावत् रहेको पनि बताए।
००००
नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिको नभएको टिप्पणी गरेका छन्। 
शुक्रवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद पन्तले सरकारले प्रस्तुत गरेको न्यूनतम साझा कार्यक्रम सत्तारुढ १० दलको मात्रै भएको बताए।
००००
फ्राइडे रिलिज अन्तर्गत शुक्रबारदेखि सुरक्षा पन्त स्टारर फिल्म ‘बहाव’ प्रदर्शनमा आएको छ । प्रमोद कँडेलको लेखन एवं निर्देशन रहेको फिल्म देशव्यापी प्रदर्शनमा आएको हो ।

salt training

कमेन्ट गर्नुहोस्