
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंकको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपाय खोजिरहेको बताएका छन् । अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले आज बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिसँगको छलफलमा उनले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर रूपमा लागिरहेको बताए ।
प्रधानमन्त्री दाहालले भने, “मैले नै यो बैठकको आयोजना गरेको हुँ । अर्थतन्त्रमा देखापरेको दबाबलाई कम गर्न लगातार छलफलमा छौँ । बैंकको ब्याजदर घटाउने उपाय खोजिरहेका छौँ । हामी छिट्टै एउटा निष्कर्षमा पुग्छौँ ।” विदेशी मुद्रा सञ्चितिको दबाबबाट अलि सजिलो महसुस भएको र अहिले विदेशी मुद्रा सञ्चिति र विप्रेषणमा सुधार आएको जनाउँदै उनले बजेट बनाउनुअघि निजी र सरकारी क्षेत्रका प्रतिनिधिसँग बृहत् छलफल गर्नेबारेमा आफूले सोचिरहेको बताए ।
अर्थतन्त्रमा सङ्कट आउनुमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै कारण जिम्मेवार छन् भन्दै प्रधानमन्त्री दाहालले भूकम्प, कोभिड, रूस र युक्रेनको युद्ध लगायतका कारण पनि रहेका बताए ।