नेपालगञ्ज , १५ भदौ—राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्वाभीमानी नेता कार्यकर्ताको साथ भए राप्रपालाई मुलुकको अग्रणी शक्ति बनाउन सक्ने हिक्मत र योजना पार्टीसँग भएको दाबी गरेका छन् ।
नेपालमा बलियो राष्ट्रवादी शक्ति निर्माण भैरहेको देख्न नचाहने भित्री र बाहीरी शक्ति प्रयोग भएको भएको भन्दै पशुपती शम्शेर केवल पार्टी विभाजनको मोहोरा मात्र भएको उल्लेख गरे ।

नेपालगञ्जमा जारी मध्यपश्चिमाञ्चल स्तरीय स्थानीय तहका अध्यक्षहरुको सम्मेलनको उद्घाटन समारोह लाई सम्बोधन गर्दै अध्यक्ष थापाले विभाजनबाट विचलीत नभइ संगठन निर्माणमा लाग्न सबैलाई आग्रह गरे ।
सो सम्मेलनमा पार्टीका वरिष्ठ केन्द्रीय सदस्य बालाराम घर्तीमगर, महामन्त्री डा. धवलशमसेर राणा, केन्द्रीय सदस्यहरु मुकुन्दश्याम गिरि, हिक्मत ढकाल, कुन्ती शाही, मनोज प्रधान, कोमल ओली, धन बहादुर बुढालगायतका नेताहरुले बोलेका थिए ।