गौर, १६ भदौ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रौतहटमा एक हजार बाढीपीडित परिवारलाई खाना पकाउने ग्यास सिलिण्डर, ग्यास चुल्हो, खाद्यान्न लगायत सामग्री वितरण गरेका छन् ।
प्रचण्डले रौतहटको गरुडामा बाढीबाट विस्थापित भएका एक हजार परिवारलाई खाना पकाउने सामग्री र खाद्यान्न बाँडेका हुन् ।
बाढीपीडित क्षेत्रको अनुगमन गर्दै उनले बाढी पीडितका समस्या सम्बोधन गर्न सरकारसँग विशेष पहल गर्ने पनि बताए । प्रचण्डले बिहीबार विहान रौतहट गडर्वामा बाढीबाट भएको क्षतिको अवलोकन गरेका थिए ।
अवलोकनपछि उद्योग वाणिज्य संघ गौरले आयोजना गरेको कार्यक्रममा प्रचण्डले बाढी प्रभावित क्षेत्रलाई संकटग्रस्त जिल्ला घोषणा गरी राहत र क्षतिपूर्तिको व्यवस्था गर्न पहल गर्ने बताएका थिए ।
राहत वितरण कार्यक्रममा सहरी विकासमन्त्री प्रभु साहको पनि उपस्थितिमा रहेको थियो ।