३० असार २०८३, मंगलबार

मालबाहक सवारीसाधनलाई अनिवार्य भारमापन गर्न प्रशासनको निर्देशन

मालबाहक सवारीसाधनलाई अनिवार्य भारमापन गर्न प्रशासनको निर्देशन

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लास्थित राजमार्गमा गुड्ने मालवाहक सवारीलाई अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिएको छ ।

कार्यालय, यातायात व्यवसायी तथा सरोकारवालाको छलफलमा बिहीवारदेखि अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिइएको हो ।

विक्रम संवत् २०७८ पुसमा काभ्रेका ३ स्थान पाँचखाल नगरपालिकाको केराघारी, पनौती नगरको नैकिन्टार र नमोबुद्ध नगरको भकुण्डेमा भारमापन केन्द्र (तौलपुल) व्यवस्थित गरिएको थियो । त्यसयता व्यवसायीले आनाकानी गर्दै आएका थिए ।

मालबाहक सवारीसाधनको भारमापन नगर्दा जिल्लास्थित राजमार्गका सडक जीर्ण बन्दै गएका छन् । 

गृह मन्त्रालयले जिल्लाका तौलपुल सञ्चालनमा ल्याउन परिपत्र गरेपछि कार्यालयले सोमवार सरोकारवाला निकायका प्रतिनिधिलाई छलफलका लागि डाकेको थियो । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले आउने बिहीवारदेखि मालबाहक सवारीसाधनलाई अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिइएको बताए ।

‘अब जसरी भए पनि तौलपुल सञ्चालन गर्ने हो, मालबाहक सवारीलाई अनिवार्यरूपमा भारमापन गर्न लगाइनेछ,’ उनले भने ।

तीनै स्थानीय तहले भारमापन केन्द्र सञ्चालन गरी ‘लोडसिट’ लिई ढुवानी गर्न/गराउन आग्रह गर्दै आएका थिए । पनौती र पाँचखाल नगरले भारमापन सेवाका लागि जिम्मेवारी लिएको ग्लोबल मशिनरी एन्ड टेक्नोलोजी सर्भिसेज प्रालिलाई र नमोबुद्ध नगरले कोटकालिका मशिनरी एन्ड टेक्नोलोजी सर्भिसेज प्रालिलाई मालबाहक सवारीसाधनको अनिवार्य भारमापन गरी गर्न/गराउन निर्देशन दिँदै आएका थिए । 

भारवहन नियमन सम्बन्धी निर्देशिका २०७४ (संशोधनसहित) को व्यवस्था, यातायात विभागको पत्र र जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकद्वारा २०७८ फागुनमा जारी पत्रानुसार स्थानीय तहले भारमापन कार्यलाई कडाइ गरे पनि भारमापन हुनसकेको थिएन । ‘दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षाका लागि पनि मालबाहक सवारीमा भारमापनमा कडाइ गर्नुपर्ने देखियो,’ प्रजिअ पौडेलले भने । 

मालबाहक सवारीसाधनले इच्छाअनुसार मात्रै भारमापन गर्ने गरेको ग्लोबल मशिनरी एन्ड टेक्नोलोजी सर्भिसेज प्रालिका सरोज कुइँकेलले बताए । उनका अनुसार सबै मालबाहक सवारीले भारमापन गर्ने हो भने सडक सुरक्षामा निकै मद्दत पुग्नेछ । निर्देशिकाअनुसार ६ पांग्रेभन्दा माथि क्षमताका मालबाहक सवारीसाधनले अनिवार्य भारमापन गर्नुपर्ने हुन्छ । तौलपुलमा भारमापन गरेबापत प्रतिसवारीले १५० तिर्नुपर्ने नियम बनाइएको छ । 

जिल्लास्थित दक्षिणी क्षेत्र बनेपा–खोपासी सडक, उत्तरी क्षेत्रको हेलम्बु राजमार्ग तथा अरनिको र विपी राजमार्गमा दैनिक करीब २ हजार निर्माण सामग्री लगायतका मालबाहक सवारीसाधन चल्ने गर्दछन् । मालबाहक सवारीले क्षमताभन्दा बढी भार बोक्दा पक्की सडक समेत बर्सेनि जीर्ण हुने गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्