०२ साउन २०८३, शनिबार
सरसर्ती २४ घण्टा

राष्ट्रपतिको स्वास्थ्य अवस्था स्थिर, प्रधानन्यायाधीश सिफारिसमा विवाद

राष्ट्रपतिको स्वास्थ्य अवस्था स्थिर, प्रधानन्यायाधीश सिफारिसमा विवाद

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
००००
भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको छ । यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले उनको स्वास्थ्य लाभको कामना गर्दै पठाएको सन्देश प्राप्त भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । राष्ट्रपति पौडेल उपचारका लागि बुधबार भारत प्रस्थान गरेका थिए ।
उनको स्वास्थ्य परीक्षण तथा उपचार नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमासुरु भएको दूतावासले जनाएको छ ।
यसअघि त्रिवि शिक्षण अवस्थामा उपचार गराएका उनलाई भारत लैजान चिकित्सकले सुझाएका थिए । अचानक अचेत भएर ढलेपछि उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो । 
००००
लामो समयपछि बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन बनेको छ । प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउन बसेको परिषद्को बैठकमा कुनै सहमति नजुटेको हो । 
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल भए पनि कुनै निर्णयमा नपुगेको जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम प्रधानन्यायाधीशका लागि प्रस्ताव गरेका थिए । दल दलहरुबीच सो नामबारे सहमति नजुटेपछि बैठक निष्कर्षविहीन बन्यो ।
००००
चालु आर्थिक वर्ष २०७९–८० को तेस्रो त्रैमासिक अवधिसम्ममा सरकारको व्यापार घाटा रू १० खर्ब ८३ अर्ब नाँघेको छ । भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको वैदेशिक व्यापारसम्बन्धी विवरणअनुसार यो अवधिमा नेपालले रू १२ खर्ब एक अर्ब ५० करोड बराबरको आयात गर्दा रू एक खर्ब १८ अर्ब २८ करोड बराबरको निर्यात गरेको छ ।
००००
वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि सम्बन्धित निर्वाचन क्षेत्रमा सार्वजनिक बिदा दिन निर्वाचन आयोगमा रहेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले नेपाल सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको उपस्थिति तथा निर्वाचन आयुक्त सगुनशमशेर जबराको अध्यक्षतामा गृह, रक्षा र अर्थ मन्त्रालयका सचिवहरू, नेपाली सेनाका रथी, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान अधिकृत लगायतको सहभागितामा भएको बैठकले बिदा दिन आग्रह गर्ने निर्णय गरेको हो । 
००००
उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि सुरु हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने जानकारी दिए ।
००००
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नयाँ बजेटले जनतामा नयाँ रक्तसञ्चार गर्ने बताएका छन् ।
बुधवार दिउँसो तनहुँको डुम्रे बजारमा क्षेत्र नम्बर १ को सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले केही नयाँ र गुणात्मक काम गर्ने गरी नयाँ बजेटको तयारी गरिएको बताए ।
००००
कांग्रेस सभापति शेरबहादुर देउवाले पाँच नै वर्ष यही गठबन्धन सरकार रहने दाबी गरेका छन् ।

१० वैशाखमा तनहुँ १ मा हुने उपनिर्वाचनको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले अबको पाँचसम्मै यही सत्ता गठबन्धनको सरकार रहने बताएका हुन् । यसैगरी प्रधानमन्त्रीले तनहुँ १ मा उपनिर्वाचन जिते गोविन्द भट्टराईलाई मन्त्री बनाउने बताएका छन् ।
००००
गृहमन्त्रालयले शान्ति, सुरक्षा र सेवालाई अझ प्रभावकारी बनाउन नयाँ ‘गृह प्रशासन सुधार कार्ययोजना’ ल्याउने तयारी थालेको छ ।
 विगतमा सार्वजनिक गरिएको कार्ययोजनालाई थप परिस्कृति गर्दै सरकारको न्यूनतम साझा कार्यक्रमसमेतलाई समेट्ने गरी कार्ययोजना ल्याउन लागिएको मन्त्रालयले जनाएको छ ।
००००
बुधबार पूँजीबजारमा दोहोरो अङ्कको सुधार देखिएको छ ।
नेपाल स्टक एक्सचेन्ज परिसूचक १५ दशमलव १३ अङ्कले बढेर एक हजार नौ सय २० दशमलव १२ अङ्कमा कायम भएको हो ।
००००
अफ्रिकी मुलुक सुडानमा शान्ति कार्यका लागि खटिएका सबै नेपाली सुरक्षाकर्मी सुरक्षित रहेका छन् । 
त्यहाँ नेपाली सेनाका दुई, नेपाल प्रहरीका तीन र सशस्त्र प्रहरी बलका एक जना स्टाफ कार्यरत रहेकामा सबै जना सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।
००००
राजधानीमा जारी  सहिद स्मारक ‘ए’ डिभिजन लिग फूटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लबले साविक विजेता मछिन्द्र फुटबल क्लबलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको खेलमा एपीएफले मछिन्द्र फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो ।
००००
नौ महिनामा करिब रु दुई खर्ब बराबरको लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको नौ महिनाको तथ्याङ्क अनुसार दुई सय १६ उद्योगका लागि रु एक खर्ब ८० अर्ब बराबरको लगानी प्रतिबद्धता आएको हो । उक्त तथ्याङ्क अनुसार हालसम्म दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै लगानी प्रस्ताव साना उद्योगमा रहेको छ ।
००००
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेका हुन् ।
००००
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको ८ सदस्यीय प्रतिनिधि मण्डल रुस प्रस्थान गरेको छ । बुधवार बिहान अध्यक्ष तिमिल्सिनासहित राष्ट्रिय सभा सदस्य वामदेव गौतम, रमेशजंग रायमाझी, दिलकुमारी थापा रावल पार्वतीलगायतको ८ सदस्यीय टीम रुस प्रस्थान गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्