ब्रिक्स समूहका सदस्य ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाले अमेरिका नेतृत्वको जी७ को भन्दा बढी विश्व आर्थिक वृद्धिमा योगदान गर्ने ब्लूमबर्ग सञ्चारमाध्यमले खबर दिएको छ ।
ब्लूगमबर्गको आकलन अन्तर्राष्ट्रिय मुद्रा कोषको पछिल्लो आँकडामा निर्भर छ । त्यसले विश्वको वृद्धिमा ब्रिक्सको योगदान ३२.१ प्रतिशत भने जी७ को योगदान २९.९ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।
अमेरिका, बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटली र जापान सदस्य रहेको जी७ लाई संसारको सबभन्दा विकसित अर्थतन्त्रहरूको खेमा मानिन्छ । यसमा रुस पनि सदस्य थियो तर सन् २०१४ मा क्राइमिया हातमा लिएपछि रुसलाई यस समूहबाट निष्काशन गरिएको थियो ।
ब्लूमबर्गको आकलनअनुसार, आगामी पाँच वर्षमा विश्व आर्थिक वृद्धिमा सबभन्दा बढी योगदान चीनले गर्नेछ । उसको योगदान अमेरिकाको भन्दा दुईगुणा बढी हुनेछ । दोस्रोमा भारत र तेस्रोमा अमेरिका छ ।