मौलाकाली केबलकार प्रालिद्वारा प्रवर्द्धित मौलाकाली केबलकार यही वैशाख १८ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ ।
नवलपुर जिल्लाको गैंडाकोट १ मा निर्माण सम्पन्न केबलकार यही वैशाख १ गतेदेखि परीक्षणका रूपमा सञ्चालन भएको थियो ।
वैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले औपचारिक रूपमा केबलकार उद्घाटन गर्ने कार्यक्रम छ ।
आईएमई ग्रुपको मुख्य लगानी रहेको मौलाकाली केबलकारको निर्माण गत वर्षदेखि शुरू गरिएको थियो ।
गैडाकोट १ बाट मौलाकाली मन्दिरसम्म १.२ किलोमिटर लामो केबलकारमा १२ वटा गोन्डोला रहेका छन् ।
केबलकारमार्फत बटम स्टेसनबाट टप स्टेसनसम्प पुग्न करीब ५ मिनेटको समय लाग्छ ।
केबलकार सञ्चालनसँगै मौलाकालीको दर्शन तथा पूजाआजाका लागि जाने भक्तजनहरूका लागि सहज हुनेछ ।
केबलकारको माथिल्लो स्टेसनमा सुविधासम्पन्न ६० रुमको होटल, ब्याङक्वेट हल र रेष्टुरन्ट सञ्चालनमा रहने छन् ।
केबलकार सञ्चालन भए पनि होटल सञ्चालनका लागि भने अझै केही महिना लाग्ने मौलाकाली केबलकार प्रालिले जनाएको छ ।
नवलपुर र चितवन जिल्लाको पर्यटकीय पूर्वाधारमा उल्लेख्य योगदान पुग्ने उक्त परियोजनामा दुई अर्ब रुपैयाँ भन्दा बढी लगानी रहेको छ ।
आईएमई ग्रुपको मुख्य लगानी रहेको केबलकारसहितको नयाँ पर्यटकीय गन्तव्य निर्माण काठमाडौंको चन्द्रागिरिमा निर्माण सम्पन्न भई सञ्चालनमा रहेको छ ।
त्यसैगरी, यस ग्रुपको मुख्य लगानी रहेको लुम्बिनी केबलकार प्रा.लिद्वारा प्रवर्द्धित अर्को केबलकार परियोजना रुपन्देही जिल्लाको बुटवल बजारदेखि पाल्पाको वसन्तपुरमा निर्माणाधीन रहेको छ ।
उक्त केबलकार परियोजना पनि यसै महिनाको अन्त्यदेखि सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।
आईएमई ग्रुपको लगानीमा सातवटै प्रदेशमा ठूला र नमूना पर्यटकीय पूर्वाधार निर्माणको चरणमा रहेका छन् ।