
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ रिक्त ३ सीटमा भएको उपनिर्वाचनको मतगणना आजै हुने भएको छ ।
बारा- २, चितवन- २ र तनहुँ- १ मा आइतवार भएको मतदानको गणना आजै साँझदेखि शुरू गर्ने तयारी भएको हो ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाका अनुसार बारा- २ मा साँझ साढे ७ बजेसम्ममा मतपेटिका संकलन गरिसक्ने तयारी छ ।
त्यसलगत्तै प्रक्रिया पूरा गरेर गणना शुरू हुनेछ ।
'मतपेटिका संकलन गरेर ल्याएलगत्तै सर्वदलीय सहमतिपछि गणना शुरू गर्न निर्देशन दिइसकिएको छ,' थपलियाले लोकान्तरसँग भने ।
त्यसैगरी चितवन- २ मा मतपेटिका संकलन गर्न राति साढे १० समेत बज्न सक्ने हुनाले त्यसपछि मतगणना शुरू हुने उनले बताए ।
तनहुँ- १ मा भने देवघाटदेखिको मतपेटिका लैजान समय लाग्ने हुँदा राति १२ नै बज्न सक्ने उनको भनाइ छ ।