०७ साउन २०८३, बिहीबार

नीरा पाण्डे हत्या प्रकरण : पसलमा हत्या भयो कि बाहिर भनेर खोज्दै प्रहरी

बैशाख १०, २०८०
नीरा पाण्डे हत्या प्रकरण : पसलमा हत्या भयो कि बाहिर भनेर खोज्दै प्रहरी

चाबहिलको सरस्वतीनगरमा भाँडा पसल सञ्चालन गर्ने नीरा पाण्डे आचार्यको हत्या पसलमा कसैले गर्‍यो कि बाहिर हत्या गरेर ल्याइयो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

अनुसन्धानमा खटिएका अधिकारीहरूका अनुसार दिउँसो घटना हुँदा अरूले थाहा नपाउने अवस्था कसरी आयो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ । 

‘हामीले मर्डर अन्तै भएको हो कि त्यहीँ हो भन्ने विषयमा अनुसन्धान गरिरहेका छौं,’ ती अधिकारीले लोकान्तरसँग भने ।

काठमाडौं प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीका अनुसार अहिले सबै कोणबाट अनुसन्धान भइरहेको छ ।

‘हामीले सबै कोणबाट अनुसन्धान गरिरहेका छौं । तर अहिलेसम्म ठोस रूपमा केही प्रमाणहरू भेटिएका छैनन्,’ एसएसपी कार्कीले लोकान्तरसँग भने ।

प्रहरीले अहिले उपत्यकाका सबै सीसीटीभी क्यामेराको अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार सीसीटीभीको फूटेजका अनुसार केही शंकास्पद व्यक्तिको पहिचान भएको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज कार्कीका अनुसार प्रहरीले सुक्ष्म ढंगबाट अनुसन्धान गरिरहेको छ ।

‘हामीले प्राविधिक र म्यनुअल सबै पाटोबाट अनुसन्धान गरिरहेका छौं, तर अनुसन्धान भइरहेकाले अन्य कुरा भन्ने कुरा भएन,’ एसएसपी डा. कार्कीले भने ।

नीरा वैशाख ७ गते दिउँसो चाबहिलमा रहेको आफ्नै पसलमा रगताम्मे अवस्थामा फेला परेकी थिइन् । काठमाडौंमा उनका दुईवटा पसल रहेका छन् ।

एउटा पसल उनका पति योगेश आचार्यले हेर्छन् । निरु भाँडा पसल भने उनी आफैँले सञ्चालन गर्दै आएकी थिइन् । उनीहरू बाग्लुङको बडिगाड गाउँपालिकाका स्थायी बासिन्दा हुन् ।

कमेन्ट गर्नुहोस्