३१ असार २०८३, बुधबार
जहाजमा समस्या

जहाज उडेको ३० सेकेन्डमै जब फ्लाइ दुबईका पाइलटले भने : 'मेडे मेडे...'

बैशाख १२, २०८०
जहाज उडेको ३० सेकेन्डमै जब फ्लाइ दुबईका पाइलटले भने : 'मेडे मेडे...'

फ्लाइ दुबईको बोइङ जहाज जब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट दुबईको लागि राति ९:२० मा 'टेक अफ' गर्यो  तब त्यसको ३० सेकेन्डमै पाइलटले एकाएक टावरसँग सम्पर्क गरी 'मेडे मेडे' भने । 'मेडे मेडे' को अर्थ हो, 'फुल इमर्जेन्सी' । 

त्यसपछि टावरले सोध्यो, जहाजमा के समस्या भएको हो ?  चालकले जवाफ दिए- 'कम्प्रेसर इन्स्टल्ड' । अर्थात् जहाजको इन्जिन संचालन हुनका लागि बन्नुपर्ने कम्प्रेसरमा ठूलो आवाज आएको भनाइ चालकको थियो । 

त्यसपछि विमानस्थलमा होहल्लाको स्थिति नै मच्चियो । विमानस्थल उच्च स्रोतले लोकान्तरलाई दिएको जानकारी अनुसार जब चालकले 'मेडे मेडे' भने काठमाडौं टावरले तत्काल इमर्जेन्सी डिक्लेयर गरेको थियो ।

 ''मेडे मेडे'को अर्थ भनेको म अब खतरामा छु, सबै सिद्धिन लाग्यो । सबै सक्कियो भन्ने हुन्छ ।  एक किसिमले भन्ने हो भने चालकले इमर्जेन्सी माग्नु भन्दा पनि अब सिद्धियो नै भन्ने हुन्छ,' ती उच्च अधिकारीले लोकान्तरसँग भने,'चालकले काठमाडौंको टावरसँग 'मेडे मेडे' भनेपछि विमानस्थलमा तत्काल 'इमर्जेन्सी डिक्लेयर' गरिएको थियो ।'

 विमानले टेक अफ गरेलगत्तै उचाई लिन लाग्दा ठूलो आवाजमा बम पड्किए जस्तो आवाज आएको थियो । सो क्रममा विमानमा आगोको झिल्का समेत देखिएको थियो ।  'तर विमान धादिङको धार्केतर्फ जाँदा अवस्था नर्मल भइसकेको थियो,' ती अधिकारीले लोकान्तरसँग भने,'ड्यासबोर्डको सबै 'प्यारामिटर' ठीक नै देखिएपछि 'डेस्टिनेसन' तर्फ 'कन्टिन्यु' गर्ने अनुमति चालकले मागे । सोहीअनुसार फ्लाई दुबईको सो जहाजलाई दुबईतर्फ उडाए ।'

स्थिति नर्मल भएको कुरा तत्काल जहाजको 'ड्यासबोर्ड'मा देखिएकाले चालक दलले विमान दुबईतर्फ लगेको उनको भनाइ छ । 'जसरी कहिलेकाहिँ मोटरसाइकल स्टार्ट गर्दा ठुलो आवाज आउने र साइलेन्सरबाट आगोको झिल्को निस्कने गर्छ त्यसै गरी कहिलेकाहिँ विमान 'टेक अफ' गर्दा पनि हुन्छ,' उनले थपे,'पछि विमानले आकाशमा उचाई लिँदै गर्दा नर्मल हुन्छ र उडान भर्छ ।' ठीक त्यसै गरी शुरुमा केही समस्या देखिएको भएपनि आकाशमा उडेकै बेला धार्केसम्म जाँदा विमान नर्मल अवस्थामा आइसकेको उनले खुलाए । 

'विमान नर्मल अवस्थामा नहुने हो भने विमानले आफ्नो उचाई नै प्राप्त गर्न सक्दैन,' उनले थपे,'काठमाडौंमै विमानले उचाई प्राप्त गरिसकेको थियो । धार्केसम्म पुग्दा त सब ठीक भइसकेको थियो ।'
विमानमा समस्या भएको भए काठमाडौंमा इमर्जेन्सी ल्याण्डिङ हुन्थ्यो । तर, कुनै समस्या नै नभए पछि विमान दुबईतर्फ उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले लोकान्तरलाई बताए । 

इमर्जेन्सी डिक्लेयर हुँदा विमानस्थलमा साइरन बज्छ । अत्यावस्यक सुरक्षाका सामग्रीहरूसहित सुरक्षाकर्मी र उद्धारकर्मीहरू परिचालित हुन्छन् । यसैगरी आकाशमा उडिरहेका जहाजहरू समेत होल्ड हुने व्यवस्था छ ।  विमानमा ४९ जना नेपाली तथा १२० जना विदेशीसहित कुल १६९ जना यात्रु सवार थिए । 

फ्लाइ दुबईका प्रवक्ताले विमान उड्नेबित्तिकै जहाजमा चरा ठोक्किन पुगेको दाबी गरेका छन् । फ्लाइ दुबईका प्रवक्ताले सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज उड्ने बित्तिकै चरा ठोक्किएको बताएका हुन् । तर नेपाली अधिकारीहरुले यसबारे केही बताएका छैनन् । 

salt training

कमेन्ट गर्नुहोस्