संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा खाद्यान्न अभाव भएको छ ।
कोरोना महामारीका कारण देखाउँदै चीन सरकारले किमाथांका नाका ३ वर्षअघि बन्द गरेको थियो । नाका बन्द भएपछि चीनतिरबाट खाद्यान्न आयात हुन नसक्दा भोटखोलामा खाद्यान्न अभाव भएको गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए ।
भोटखोलामा आलु, कोदो, मकै र फापर मात्र उत्पादन हुन्छ । उत्पादित खाद्यान्नले अधिकांश स्थानीयवासीलाई तीन महिना मात्र खान पुग्ने गरेको छ । सदरमुकाम खाँदबारीबाट किमाथांका नाका करीब १६२ किलोमिटर टाढा पर्दछ ।
किमाथांकाका स्थानीयवासी दैनिक रोजगारीका लागि पनि विगतमा पारिका चाँगा र देन्दाङसम्म जाने गरेका थिए । त्यो पनि अहिले बन्द हुँदा ज्याला मजदुरी गरी खानेलाई मर्का परेको छ । करीब ६ हजारको बसोबास रहेको यो क्षेत्रमा स्थानीय उत्पादनले ३ महिना पनि धान्दैन ।
किमाथांका, चेपुवा, छुम्सुर रिदाक, थुदामलगायत गाउँका लागि चामल लगायत दैनिक उपभोग्य सामग्री किनमेल गर्ने प्रमुख बजार चीनको चाँगा र देन्दाङ हो ।