०१ साउन २०८३, शुक्रबार

ठेक्का तोड्नेभन्दा निर्माण कम्पनीलाई नै जिम्मेवार बनाइनेछ : मन्त्री ज्वाला

बैशाख १२, २०८०
ठेक्का तोड्नेभन्दा निर्माण कम्पनीलाई नै जिम्मेवार बनाइनेछ : मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माणमा ढिलाइ भएका योजनामा सकेसम्म ठेक्का तोड्नेभन्दा निर्माण कम्पनीलाई नै जिम्मेवार बनाएर काम सम्पन्न गराउन लागिने बताएका छन् ।

मंगलवार मन्त्रालयमा आयोजना गरिएको पूर्वाधार क्षेत्रमा कार्यरत पत्रकारसँगको भेटघाट कार्यक्रममा उनले ठेक्का तोड्ने मात्रै महत्त्वपूर्ण काम नभएको बताए ।

एउटा ठेक्का तोडिएपछि अर्काे ठेक्कामार्फत काम अघि बढाउन उत्तिकै झन्झटिलो हुँदा काम गरिरहेको कम्पनीमार्फत सम्पन्न गर्न लाग्नुपर्ने उनको भनाइ थियो । भारतीय लगानीका योजनामा समस्या आएको कुरा आएकाले त्यसबारे छलफल भएको मन्त्री ज्वालाले बताए । उनले भने, ‘सकेसम्म काम गराउने र नसके मात्रै तोडेर जान सकिन्छ ।’

आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि बुटवल–नारायणगढ र मुग्लिन–पोखरा सडकको अनुगमन गरेको र त्यहाँको अवस्थाबारे स्थलगतरूपमा बुझेको मन्त्री ज्वालाले बताए ।

केही समय पहिले नेपालमा उत्पादन भएका सवारीसाधन दर्तामा समस्या रहेको समाचार मिडियामा आएकाले तत्काल समाधानका लागि पहल गरेको उनले बताए । उनले भने, ‘त्यसबारे थाहा पाएकै दिनमा यातायात विभागसँग छलफल शुरू गरेको थिएँ ।’

मन्त्रालयले देशभर रहेका सडकमध्ये कुन–कुन कसको कार्यक्षेत्रमा पर्छन् भनी वर्गीकरण गर्न शुरू गरेको छ । मन्त्रालयका सहसचिव अर्जुनजंग थापाको नेतृत्वमा सडकको वर्गीकरण शुरू गरिएको मन्त्री ज्वालाले जानकारी दिए । अहिले सडक ३ तहका सरकारअन्तर्गत मात्रै नभएर संघीय सरकारअन्तर्गत सडक फरक मन्त्रालयअन्तर्गत रहेका छन् ।

उनले भने, ‘अहिले कुन सडक कसको क्षेत्रमा पर्छ भन्ने स्पष्ट नहुँदा कतै सडक अलपत्र छन् भने कतै दोहोरो योजना परेको छ ।’

salt training

कमेन्ट गर्नुहोस्