
गुल्मीको रेसुङ्गा विमानस्थलमा शुक्रवार परीक्षण उडान गरिएको छ ।
रेसुङ्गा नगरपालिका–१० स्थित सिमीचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको जहाज शुक्रवार बिहान ७ बजेर ३९ मिनेटमा अवतरण भएको हो ।
निगम र रेसुङ्गा नगरपालिकाबीच सम्झौता भएपछि व्यावसायिक उडानका लागि निगमले शुक्रवार परीक्षण उडान गरेको हो । विक्रम संवत् २०६३ देखि निर्माण शुरू गरिएको विमानस्थल १६ वर्षपछि सम्पन्न भएको हो ।
कूल ३३ करोड लागतमा निर्माण सम्पन्न भएको विमानस्थलको लम्बाइ ५२० मिटर र चौडाइ २० मिटर रहेको छ । १५६ रोपनी क्षेत्रफलमा फैलिएको रेसुङ्गा विमानस्थल समुद्र सतहदेखि १ हजार ५२६ मिटरको उचाइमा रहेको छ ।
शुक्रवारको उडानपछि व्यावसायिक उडान गर्ने योजना रहेको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिए । प्राविधिक टोलीले सबै कुराको जानकारी लिएपछि निगमले व्यावसायिक उडान थाल्ने उनको भनाइ छ । कति यात्रु बोक्न सकिन्छ भन्ने विषयमा अध्ययन गरेपछि मात्र भाडादर निर्धारण गरिने कँडेल बताउँछन् ।
‘रेसुङ्गा–काठमाडौं उडानको भाडा अहिले प्रतिव्यक्ति सरदर ६ हजार ५०० हुने भनिए पनि अन्तिममा ६ हजारसम्म कायम हुनसक्छ,’ उनले भने ।
निगमका क्याप्टेन मनिष विष्टले १ हप्ताभित्र नागरिक उड्ययन प्राधिकरणलाई शुक्रवारको उडान प्रतिवेदन बुझाएपछि नियमित उडान हुने बताए । रेसुङ्गा विमानस्थलमा यसअघि २०७५ जेठ २५ गते पनि परीक्षण उडान गरिएको थियो ।
लामो समयपछि जहाज चढेर काठमाडौं जाने गुल्मीवासीको सपना अब चाँडै साकार हुने रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए ।