
सत्तारुढ गठबन्धनले आगामी वर्षको बजेटका विषयमा छलफल शुरू गरेको छ ।
बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले बजेटका लागि छलफल शुरू गरेको हो ।
छलफलमा बजेटको सिद्धान्त र प्राथमिकताबारे सरकारले आधारपत्र तयार गर्नुपर्ने निर्णय भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए । उनले वैशाख २४ गते बजेट अधिवेशन आह्वान भएको र अधिवेशनमा बजेटका सिद्धान्त र प्राथमिकतामा सत्तारुढ दलबीच सहमति गर्ने प्रयास भएको बताए ।
उनले भने, ‘२४ गते अर्को संसद अधिवेशन बोलाइएको छ, २४ गतेको अर्को अधिवेशनमा के कुरामा गर्ने भन्नेबारेमा छलफल भयो । बजेटका सिद्धान्त र प्राथमिकता ल्याउने कुरामा छलफल भयो । यसमा सरकारले एउटा आधारपत्र तयार गर्ने र बजेटका सिद्धान्त र प्राथमिकताको प्रारम्भिक छलफल गर्ने र बजेटका बारेमा पनि डेलिभरि गर्न सकिने बारेमा सम्बोधन गर्ने गरी बजेट ल्याउने बारेमा छलफल भयो । बजेट, बजेट पूर्वको छलफल, सरकारको आर्थिक नीति तर्जुमाका बारेमा छलफल भयो ।’
प्रमुख सचेतक लेखकले तत्काल गठबन्धन भत्किने र नयाँ बन्ने सम्भावना नरहेको बताए ।