
संघीय संसदको बजेट अधिवेशनलाई प्रभावकारी बनाउने विषयमा सत्ता गठबन्धनमा छलफल भएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा आइतबारदेखि सुरु हुने संघीय संसदको बजेट अधिवेशनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
सदनलाई व्यवस्थित रुपमा कसरी अघि बढाउने र सरकारका तर्फबाट लिइनुपर्ने पहलकदमीका विषयमा बैठकमा छलफल भएको उनको भनाइ छ । भोलिकै बैठकमा सरकारको सिद्धान्त र प्राथमिकताका विषय प्रस्तुत गर्ने कार्यक्रम रहेकाले सो विषयमा समेत बैठकमा छलफल भएको उनको भनाइ छ ।
उनले सरकारले अहिले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था नरहेको पनि जिकिर गरे । यसअघि विश्वासको मत लिने क्रममा प्रधानमन्त्रीले विभिन्न विधेयकहरुको प्राथमिकताका बारेमा कुरा गरेको उल्लेख गर्दै पाण्डेले जसअनुसार आवश्यक कानुनहरुलाई अघि बढाउन बैठकमा छलफल र परामर्श भएको बताए ।
परामर्शका क्रममा वरिष्ठ अभिवक्ताहरुलाई बैठकमा बोलाइएको जानकारी दिँदै उनले भने, ‘नागरिकता विधेयकलाई कसरी व्यवस्थित गर्ने, संघीय शिक्षा ऐन कसरी अघि बढाउने, निजामती विधेयकलाई कसरी अघि बढाउने, प्रधानन्यायाधीशको समस्या कसरी हल गर्ने भन्नेबारे वरिष्ठ कानुनविज्ञहरुसँग छलफल भएको छ ।’ उनले विषयगत समितिलाई प्रभावकारी बनाउने विषयमा पनि बैठकमा चर्चा भएको उल्लेख गरे ।
सुशासनको सवालमा सरकारले चालेको कदमको स्वागत गर्दै बैठकले यो विषयलाई दृढतापूर्वक अघि बढाउन आग्रह गरेको छ । नक्कली शरणार्थीको विषयमा सरकारले कदम चालेर सुशासनको सवालमा आफूलाई प्रमाणित गर्न खोजेको पाण्डेको भनाइ थियो ।