
महोत्तरीको मनरासिश्वा नगरपालिकाबाट भारततर्फ मदिरा तस्करी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतको बिहारमा मदिरा प्रतिबन्ध रहेको अवस्थामा मोटरसाइकलको पछाडि ११ कार्टुन मदिरा बाँधेर नेपालबाट तस्करी गर्न लागिरहेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार मनरासिश्वा–१० स्थित नेपाल–भारत सीमानजिकै भारतीय नम्बरका चार मोटरसाइकलमा मदिरा तस्करी गर्दै गरेका उनीहरूलाई नियन्त्रणमा लिइएको हो । सोही क्रममा दुई जना प्रहरीलाई देखेर मोटरसाइकल र मदिरा छाडेर भाग्न सफल भएका थिए । प्रहरीले चारवटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।
बीआर ०३ के ५४३३, बीआर ३०भी ८०९५, बीआर ०६ एडब्लु ८९१७ र बीआर ३० आर ०४३४ नम्बरका मोटरसाइकल र मदिरासहित नियन्त्रणमा लिइएको हो । बरामद मोटरसाइकल र मदिरा तीन लाख २९ हजार नौ सय बराबरको रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिसहित मोटरसाइकल र मदिरा आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय जलेश्वरमा बुझाइएको छ ।