
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्यदेखि सांसद पद समेतबाट कारवाही गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
ढाकाकुमारको रिटमाथि सोमवार सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले रास्वपाको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको हो । साथै अन्तरिम आदेशका सम्बन्धमा छलफलका लागि दुवै पक्षलाई छलफलमा बोलाइएको छ भने विपक्षीका नाममा कारण देखाऊ आदेश पनि जारी भएको छ ।
००००
यसैबीच आदेशपछि श्रेष्ठले सत्य शाश्वत हुने भन्दै त्यसमा बोलिरहनु नपर्ने बताएका छन् । श्रेष्ठले असत्यले केही समय भ्रम छरे पनि बिस्तारै सत्यले त्यो भ्रम तोड्ने बताएका छन् । फोहोरी राजनीतिलाई सफा गरौँ भन्ने संकल्पले रास्वपासँग जोडिएपनि आफूमाथि षडयन्त्र भएको उनको भनाइ छ । जसको कोही हुँदैन उसको साथमा भगवान हुन्छन् भन्ने सन्देश अदालतको आदेशले दिएको श्रेष्ठले सामाजिक सञ्जालमार्फत बताएका छन् ।
००००
निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ विन्दाबासिनी कसांकारलाई सांसदको प्रमाणपत्र प्रदान गरेको छ ।
आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार वैशाख २१ गतेको आयोगको निर्णयअनुसार उनलाई प्रतिनिधिसभा सदस्यको प्रमाणपत्र प्रदान गरिएको हो । तर, सर्वोच्चको आदेशसँगै उनलाई सांसदमा निर्वाचित गरिएपनि तत्काल कार्यान्वयनमा नजाने देखिएको छ ।
००००
संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस गरेको छ ।
कानून मन्त्री धनराज गुरुङको सचिवालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मत सिफारिस गरेको हो ।
००००
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकतासम्बन्धी विधेयकबारे कानूनविद्हरूसँग छलफल र परामर्श गरेका छन् । जसअनुसार सोमबार उनले नेपाल बार एसोसिएसनका पदाधिकारीसँग दुई–दुईपटक सार्वभौम संसद्ले पारित गरेर पठाएको विधेयक म्यादभित्र प्रमाणीकरण नभइसकेपछि जहिलेसुकै प्रमाणीकरण गर्न मिल्ने हो कि होइन भनी जिज्ञासा राखेका थिए।
साथै उनले यदि त्यसरी मिल्ने हो भने त्यसको संवैधानिक व्यवस्था के हो, ब्युँताउने हो भने त्यसको संवैधानिक व्यवस्था के हो भनी सुझाव मागेको राष्ट्रपतिलाई उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
००००
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा प्रधानमन्त्रीले खुट्टा कमाउनु नहुने बताएका छन् ।
सोमवार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा प्रधानमन्त्रीले खुट्टा कमाउनु नहुने बताए । प्रधानमन्त्रीको परीक्षाको बेला आएको उनको भनाइ थियो । भुटानी शरणार्थी प्रकरणमा आफूहरूको पूरा साथ, सहयोग रहने उनले बताए ।
००००
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा नेपाली कांग्रेसका प्रभावशाली नेताहरु मुछिएपछि सो पार्टीमा तरंग आएको छ । कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उनकी श्रमती मञ्जुसहित सभापति शेरबहादुर देउवाकी पत्नी आरजुसमेत मुछिएपछि यो प्रकरणले पार्टीमा तरंग उत्पन्न भएको हो ।
शुरूमा अनुसन्धान प्रशासकतिर मात्रै सोझिँदा कांग्रेसका नेताहरूले घटनाको गम्भीर अनुसन्धानमा जोड दिएका थिए । तर विस्तारै एकपछि अर्को नेता जोडिएको आशंकायुक्त घटना बाहिर आएपछि उनीहरू प्रतिक्रियाविहीन बन्न पुगेका छन् । जसले उकुसमुकुसको अवस्था देखिएको छ ।
विरोध गर्दा पार्टीका नेताको विरोधमा देखिने नगर्दा गम्भीर ठगीमा समर्थन गरेको जस्तो देखिने दोसाँधमा धेरै नेता कार्यकर्ता रहेका देखिन्छन् ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारीलाई जोगाउने पक्षमा आफू नरहेको स्पष्ट पारेका छन्। राष्ट्रिय युवा सङ्घ नेपालको पहिलो बैठकलाई सोमबार सम्बोधन गर्दै उनले एमालेले कसैको पनि दोषको ढाकछोक नगर्ने बताए ।
“एमालेले कसैको पनि दोष र अपराधलाई ढाकछोक गर्दैन”, अध्यक्ष ओलीले भने, “कोही पनि दोषीलाई एमालेले बचाउ गर्दैन र भ्रष्टाचार कसैले गर्छ भने जान्छ । व्यक्तिगत भ्रष्टाचारलाई एमाले पनि समर्थन गर्दैन ।” उनले एमालेविरुद्ध षड्यन्त्र हुन्छ भने त्यसको मुकाबिला गर्न आफू तयार रहेको बताए
००००
काठमाडौं महानगरपालिकाले टुकुचा खोलामाथि पर्ने जग्गाको लगत कट्टा गर्न मन्त्रालयलाई पत्र पठाएको छ ।
उच्च अदालत पाटनले टुकुचा खोला भएको र त्यो माथि व्यक्तिगत सम्पत्ति रहेको आदेश दिएपछि सोमवार महानगरपालिकाले खोलामाथि पर्ने जग्गाको लगत कट्टाको माग गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्र लेखेको हो ।
००००
नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राविधिक समस्या देखिएको श्री एयरलाइन्सको नाइन एन–एएनइ (डीएचसी–८–४०२) जहाज उडानमा प्रतिबन्ध लगाएको छ ।
प्राधिकरणले सूचना जारी गर्दै अर्को सूचना नआउन्जेलका लागि उक्त जहाज सञ्चालनमा रोक लगाइएको हो ।
००००
नेप्से दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्ज परिसूचक १६ दशमलव ९३ अङ्कले घटेर एक हजार आठ सय ३३ दशमलव ६९ अङ्कमा पुगेको छ ।
००००
सांसद डा स्वर्णिम वाग्लेले सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८०–८१ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा अर्थतन्त्र सुधारका लागि प्रयास गरेको भए पनि त्यो पर्याप्त नभएको बताएका छन् ।
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे प्रतिनिधिसभाको आजको बैठकमा सांसद वाग्लेले अर्थतन्त्र सुधारका लागि गम्भीर सर्जरी नै आवश्यक रहेका बेला सामान्य झारफुकले मात्र यो सम्भव नहुने धारणा बताए ।
त्यस्तै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले धेरै विषय समेटेको भए पनि त्यसले अपेक्षित आशा जगाउन नसकेको उनको भनाइ छ ।
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सोमबारदेखि छलफल सुरु भएको हो । छलफलमा विभिन्न दलका नेताहरुले आ–आफ्नो धारणा राखेका छन् ।
००००
सांसद अमरेशकुमार सिंहले बोल्न नदिए कपडा खोल्ने जानकारी पहिल्यै सभामुखलाई दिएको बताएका छन् । सोमवार प्रतिनिधि सभा बैठकमा बोल्न नपाएपछि कपडा खोलेर विरोध जनाएका स्वतन्त्र सांसद सिंहले दुई मिनेट बोल्नसमेत समय नपाएको गुनासो गरेका हुन् ।
‘आकस्मिक समयमा भ्रष्टाचारको विषयमा बोल्छु भनेर सभामुखलाई आग्रह गरेँ । दुई मिनेट पाउने हो त्यो समय पाऊँ,’ उनले फेसबुकमा लेखेका छन्, ‘सभामुखलाई पहिल्यै भनेको थिएँ समय नपाए म प्रोटेस्टको अन्तिम लेबलसम्म जान्छु । शब्दमै भनेको थिएँ कपडा खोल्छु ।’
सोमवार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै उनले आकस्मिक समयमा बोल्नका लागि सभामुखसँग समय माग गरेका थिए । सभामुखले संसद् नियमावलीको कारण देखाउँदै अमरेशलाई बोल्न नदिने बताएपछि अमरेशले शुरूमा सर्ट खोलेका थिए । त्यसलगत्तै उनले भित्री वस्त्र (सेन्डो) समेत खोलेका थिए ।
००००
सरकारले स्थानीय तहका पदाधिकारी तथा कर्मचारीलाई विदेश भ्रमणमा कडाइ गरेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक परिपत्र जारी गर्दै स्थानीय तहका पदाधिकारी एवं कर्मचारीलाई कार्यक्रम स्वीकृत नगराइ जथाभाबी विदेश भ्रमणमा नजान आग्रह गरेको हो । यसअघि भएका यस्ता वैदेशिक भ्रमणका कतिपय कार्यक्रमको औचित्य नदेखिएको भन्दै मन्त्रालयको उक्त परिपत्रमा आवश्यकताका आधारमा मात्र वैदेशिक भ्रमणमा जान निर्देशन दिइएको छ ।
००००
काठमाडौं महानगरपालिकाले अव्यवस्थित तार व्यवस्थापन कार्य शुरू गरेको छ । महानगरले सोमवार बिहान माइतीघर मण्डला क्षेत्रबाट अव्यवस्थित तार व्यवस्थापन शुरू गरेको हो ।
महानगरपालिकाले सम्बन्धित निकायसँगको समन्वयमा तार व्यवस्थापन गर्न शुरू गरेको महानगरका महानगरीय प्रहरी निरीक्षक ईश्वर वाग्लेले बताए । उनले यो अभियान काठमाडौंभरका अव्यवस्थित तार नहटाएसम्म जारी रहने उल्लेख गरे ।