रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोको रेड स्क्वायर सैन्य परेडमा मंगलवार सम्बोधन गरेका छन् ।
मे ९ लाई रुसले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीविरुद्धको विजयदिवसका रूपमा मनाउने गरेको छ ।
यस वार्षिकोत्सवका अवसरमा पुटिनले रुसविरुद्ध चलाइएको युद्धमा मस्को विजयी हुने प्रतिज्ञा गरेका छन् ।
‘अहिले सभ्यता निर्णायक विन्दुमा छ र हाम्रो मातृभूमिविरुद्ध वास्तविक युद्ध शुरू गरिएको छ,’ उनले भने, ‘तर हामीले अन्तर्राष्ट्रिय आतंकवादलाई परास्त गरेका थियौं अनि अहिले डोनबास निवासीहरूलाई हामी संरक्षण गर्छौं र हाम्रो सुरक्षा बलियो बनाउँछौं ।’
सार्वभौम केन्द्रहरूको घाँटी समात्न पश्चिमा मुलुकहरू लागिपर्ने गरेको उनले बताए ।
‘उनीहरूको लक्ष्य हाम्रो मुलुक धराशायी होस् भन्ने हो,’ उनले थपे, ‘दोस्रो विश्वयुद्धबाट आएको परिणामलाई निरस्त गर्ने, वैश्विक सुरक्षा तथा अन्तर्राष्ट्रिय कानूनलाई ध्वस्त पार्ने अनि सार्वभौम रूपमा विकास गरिरहेका केन्द्रको घाँटी समात्ने काम उनीहरूले गरिरहेका छन् ।’
पश्चिमा मुलुकहरूले संसारभरि द्वन्द्व र सत्तापरिवर्तन गराइरहेको पुटिनले आरोप लगाए । आफ्नो नियम लाद्नका लागि उनीहरूले परम्परागत मूल्यमान्यतालाई ध्वस्त पारिरहेको पनि पुटिनको भनाइ छ ।
युक्रेनका विषयमा बोल्दै पुटिनले सन् २०१४ मा गरिएको कूपछि युक्रेनीहरू पश्चिमको बन्दी तथा बार्गेनिङ चिप बनिरहेको बताए ।